चितवनः जिल्ला प्रहरी कार्यालय चितवनले सट्टेबाजी र लागु औषधको अभियोगमा ६ जनालाई पक्राउ गरेको छ । कार्यालयका प्रबक्ता सूर्यबहादुर थापाका अनुसार सिपिएल क्रिकेटमा सट्टेबाजी खेलाउने ४ जना र लागु औषध सहित २ जनालाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा नवलपरासी सुस्ता पूर्ब गैडाकोट नगरपालिका वडा नं.२ का २८ वर्षिय सविन कंडेल र ३४ वर्षिय राजेश सिग्देल रहेका छन् । यस्तै भरतपुर महानगरपालिका वडा नं.७ का २२ वर्षिय रिनाज आचार्य र २८ वर्षिय सन्जिल लामिछाने रहेका छन् ।
उनीहरुलाई प्रहरीले अनलाईन सट्टेवाजी खेलाएको आरोपमा पक्राउ गरेको हो । उनीहरुबाट नगद रू.१ लाख ७२ हजार ५ सय र सट्टेबाजीको लागि प्रयोग गरेका मोबाइलहरु समेत वरामद गरीएको थापाले जानकारी दिनुभयो । उनीहरुलाई सट्टेबाजी (सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता बिरुद्धका कसूर)मा मुद्धा दर्ता गरिएको थापाले बताउनुभयो ।
यसै गरि प्रहरीले लागु औषध सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रत्ननगर नगरपालिका वडा नं.२ का २५ वर्षिय किशोर साह र स्याङजा गल्याङ नगरपालिका वडा नं.१ घर भई हाल खैरहनी नगरपालिका वडा नं.१ बस्ने ४२ वर्षिय राजेश बस्याल रहेका छन् ।
उनीहरुलाई आइतबार साँझ ६ वजे भरतपुर महानगरपालिका वडा नम्बर ११ भोजाडबाट पक्राउ गरिएको हो । उनीहरुको साथबाट लागु औषध डाइजेपाम –४३ एम्पुल, फेनारगन –३८ एम्पुल, नुफिन –३९ एम्पुल बरामद गरीएको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरुलाई लागु औषध कसुरमा म्याद थप गरि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।