चितवनः भरतपुर महानगरपालिकाका २९ जना सहित चितवनका ३० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यस्तै अन्य जिल्लाका चार जनामा कोरोना भाईरस देखिएको हो ।

भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा शनिबार राति गरिएको परीक्षणमा महानगरका १० वर्षीय बालकदेखि ६६ वर्षसम्मका १८ जना पुरुष र १० वर्षीया बालिकादेखि ५० वर्ष उमेर समूहका ११ जना महिला रहेका छन् । उनीहरु भरतपुर महानगरपालिका वडा नंं.२, ३, ५, ६, ७, ८, ९, १०, १३, २२, १८ र २१ का बासिन्दा हुन् । उनीहरु सबैको भरतपुर अस्पताल स्वाब केन्द्रबाट स्वाब संकलन गरिएको हो ।

यस्तै पूर्वी चितवनको राप्ती नगरपालिका–२ का ३४ वर्षीय एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसैगरि चितवन बाहिरका नवलपरासी पूर्वको कावासोती नगरपालिकाका २ महिला र बुलिङटार गाउँपालिकाका ३८ वर्षीय एक पुरुषमा संक्रमण पुष्टि भएको छ ।
त्यस्तै कास्कीको पोखरा महानगरपालिका–१० का ३० वर्षीय एक पुरुषमा पनि संक्रमण पुष्टि भएको प्रयोगशालाले जनाएको छ ।

प्रयोगशालामा शनिबार राति कुल १३४ वटा नमुना परीक्षण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस !