चितवनः जिल्लामा पहिलो पटक चितवन मेडिकल कलेजमा उपचाररत एक महिलामा प्लाज्मा थेरापी बिधिबाट उपचार थालिएको छ । हेटौडा उपमहानगरपालिका वडा नम्बर ११ कि ५२ वर्षिया कोरोना सङ्क्रमितमा प्लाज्मा थेरापी गरिएको हो ।
क्षेत्रीय रक्तसंञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलका अनुसार ती महिलालाई विहिबार राती दुई पोका वि पोजेटिभ प्लाज्मा चढाईएको छ । बिहिबारनै केन्द्रमा सङ्क्रमण मुक्त भएका तीन जनाले प्लाज्मा दान गरेका थिए ।
पौडेलका अनुसार हेटौडा र भरतपुरका पुरुषको“ बि” पोजेटिभ र देवघाटका पुरुषको “व” पोजेटिभ रहेको थियो । दान गरिएको रगतबाट प्लाज्मा निकालेर ती महिलालाई चढाईएको पौडेलले जानकारी दिनुभयो ।
कोभिड सङ्क्रमित भएर आईसोलेसनबाट निको भई १४ दिन कटेकाहरुको रगत संङ्कलन गरेर रक्ततत्व छुट्याईन्छ । निको भएकाहरूको रगतको प्लाज्मामा भाइरसविरुद्ध बनेका एन्टिबडीलाई अरू बिरामीमा प्रयोग गरिन्छ । यो विधिमार्फत कोरोना भाइरसबाट हुने मृत्युदर कम हुने चिकित्सकहरुको भनाई छ ।
पौडेलले भन्नुभयो “प्यासिभ एन्टिबडी थेरापी भनेको एक व्यक्तिमा बनिसकेको एन्टिबडी अर्को व्यक्तिलाई दिनु हो ।” अठार वर्ष उमेर माथिका व्यक्तिले रगतको प्लाज्मा दिन सक्छन् । कोरोना संक्रमण मुक्त व्यक्तिले दिने रगत रक्तदान नै हो । रगतबाट रगतमा भएको सेतो कोष हटाएर बनेको झोल पदार्थ नै प्लाज्मा भएको पौडेलको भनाई छ ।
चितवन मेडिकल कलेजका अध्यक्ष एबं प्रबन्ध निर्देशक प्रा.डा हरिशचन्द्र न्यौपानेले कोभिड सघन उपचार कक्षमा एक साता देखि उपचाररत ती महिलामा प्लाज्मा थेरापी गरेर जिल्लामा पहिलोपटक उपचार थालिएको बताउनुभयो । उहाँले क्रमश अन्य बिरामीहरुलाई पनि आबश्यकता र उपलव्धता अनुसार प्लाज्मा थेरापी गरिने जानकारी दिनुभयो ।
जिल्लामा गम्भिर रहेका धेरै सङ्क्रमितको चितवन मेडिकल कलेजमा उपचार भईरहेको उहाँले जानकारी दिनुभयो । सो मेडिकल कलेजले कोभिड प्रयोगशलाा समेत संञ्चालनमा ल्याएको छ ।