चितवनः कोरोना सङ्क्रमणका बिरामीहरुको उपचार गर्ने हब अस्पताल भरतपुर अस्पतालमा सङ्क्रमित राख्नका लागि आइसोलेसन शैया थप गरिएको छ । अस्पताल बिकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीका अनुसार अस्पतालले १ सय आइसोलेसन शैया थप गरेको बताउनुभयो ।

अहिले अस्पतालमा १० शैयाको कोभिड सघन उपचार कक्ष सहित ७५ शैयाको आइसोलेसन सञ्चालनमा रहेको छ । कोरोना संक्रमितलाई उपचारमा सहजताका लागि आइसोलेसनको शैया थप गरिएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “भेन्टिलेटर सहित थप गरेर कोभिड सघन उपचार कक्ष १६ शैयाको बनाईने छ ।” पछिल्लो समय अस्पतालमा आएका सङ्क्रमितले उपचारका लागि शैया नपाउने समस्या वढेपछि अस्पतालमा शैया थप गरि १ सय ७५ पु¥याईएको हो ।

उहाँका अनुसार थप भएका आइसोलेसन शैयामा साधारण सङ्क्रमितका लागि ३५, सङ्क्रमित कर्मचारी तथा चिकित्सकका लागि २४, परीक्षणका क्रममा शंकास्पद देखिएकालाई ३५ रहने गरि आइसोलेसन थप गर्न गरिएको हो । कर्मचारीलाई निर्माणाधिन कुरुवा घरमा क्वारेन्टिनको व्यवस्थापन मिलाइदै छ । यसमा ४८ शैया हुनेछ । शङ्कास्पद बिरामीलाई छुट्टै आईसोलेसनमा राख्ने व्यवस्था मिलाईएको छ ।

अस्पतालले कोरोना सङ्क्रमण भएकाको शल्यक्रियाका लागि छुट्टै कक्ष सञ्चालनमा ल्याउन लागेको अधिकारीले जानकारी दिनुभयो । सङक्रमित महिलाबाट जन्मेका बच्चा राख्न छुट्टै वाल सघन उपचार कक्षको व्यवस्था मिलाइएको छ । निषेधाज्ञा खुलेमा बिरामीको चापलाई मध्यनजर गर्दै आलोपाले प्रणालीमा बहिरंग (ओपिडी) सेवा सञ्चालन गर्ने योजना समेत बनाइएको छ । गम्भिर प्रकृतिका सङ्क्रमितलाई प्लाज्मा थेरापि बिधिबाट उपचार गरिने उहाँले बताउनुभयो । उहाँका अनुसार सङ्क्रमण मुक्त भएकाहरुबाट रक्तदान गर्ने कार्य आजैबाट सुरु गरिएको छ ।

अस्पतालले एकिकृत आकस्मिक सेवालाई निरन्तरता दिदै आइरहेको छ । यस अघि आकस्मिक कक्षमा पनि आएका बिरामी र पुराना बिरामी एकै ठाउँमा हुने अवस्था हटाउन आकस्मिक कक्षमा छुट्टै ४ शैया तयार पारिएको छ । संक्रमणकै कारण उपचार पाइएन भन्ने गुनासो अब हट्ने अधिकारी बताउनुहुन्छ । उहाँले भन्नुभयो, “सहजरुपमा सबै बिरामीले उपचार दिन भरतपुर अस्पताल सधै तत्पर छ ।”

प्रतिक्रिया दिनुहोस !