चितवन: जिल्लामा कोरोना सङ्क्रमणबाट आज तीन जनाको मृत्यु भएको छ । भरतपुर अस्पतालमा एक जना र चितवन मेडिकल कलेजमा दुई जनाको मृत्यु भएको हो ।

भरतपुर अस्पतालले दिएको जानकारी अनुसार राप्ती नगरपालिका वडा नम्बर ९ की ३५ वर्षिया महिलाको मृत्यु भएको हो । विगत तीन महिना देखि मृगौलाको समस्याका कारण डायलासिस गराईरहेकी उनलाई भदौ १४ गते खोकी र स्वाशप्रस्वाशमा समस्या भएपछि अस्पताल भर्ना गरिएको अस्पतालद्धारा जारी सूचनमा उल्लेख छ । भदौ १७ गते कोरोना सङ्क्रमण देखिएकी उनको कोभिड सघन उपचार कक्षमा आज साँझ ५ः १० वजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

यसअघि आजै चितवन मेडिकल कलेजको सघन उपचार कक्षमा गौडाकोट नगरपालिका वडा नम्बर ५ का ३७ वर्षका एक पुरुषको मृत्यु भएको छ । अस्पतालका निर्देशक दयाराम लम्सालका अनुसार मृगौलामा समस्या देखिएपछि उनी भदौ ५ गते अस्पताल भर्ना भएका थिए । उनको भदौ १० गते गरिएको श्वाब परिक्षणका क्रममा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । उपचारका क्रममा आज दिउँसो २ः२० वजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

यस्तै गए राती भरतपुर महानगरपवालिका वडा नम्बर ११ की ४० वर्षिया महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको थियो । स्वाशप्रश्वासमा समस्या आए पछि अस्पताल भर्ना भएकी उनमा कोरोना सङ्क्रमण देखिएको थियो । उनको पनि चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो ।

यस संगै जिल्लामा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या २० पुगेको छ । चितवनका ११ जना, मकवानपुरका ४ जना, नवलपरासी सुस्ता पूर्बका २ जना, वारा, गोर्खा र कैलालीका १÷१ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो । हाल सम्म जिल्लामा संक्रमितको संख्या ८ सय ६२ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस !