चितवनः जिल्लामा कोरोना सङ्क्रमण वढ्दै जाँदा यसको प्रत्यक्ष प्रभाव स्वास्थ्य क्षेत्रमा काम गर्नेहरुमा परेको छ । हालसम्म सङ्क्रमित ७ सय ९६ जना मध्ये १ सय ९३ जना स्वास्थ्य क्षेत्रमा काम गर्नेहरु रहेका छन् ।

विश्व स्वास्थ्य संगठनले स्वास्थ्य क्षेत्रमा काम गर्ने सबैलाई स्वास्थ्यकर्मीको रुपमा मानेको छ । यसरी सङ्क्रमित हुने स्वास्थ्यकर्मीहरुमा चिकित्सक, नर्स, पारामेडीक्स, एम्बुलेन्स चालक, सरसफाई कर्ता, अस्पताल प्रशासन हेर्ने रहेका छन् । कुल सङ्क्रमित मध्ये २४ प्रतिशत भन्दा वढी स्वास्थ्यकर्मी रहेको पाईएको छ ।

जिल्लामा सबैभन्दा वढी चितवन मेडिकल कलेजका स्वास्थ्यकर्मी सङ्क्रमित भएका छन् । कलेजका निर्देशक डा. दयाराम लम्सालका अनुसार ७ जना चिकित्सक, ३३ जना नर्स, १ जना पारामेडीक्स र ५ जना एटेण्डर(सहयोगी) गरि ४६ जना सङक्रमित भएका छन् । जस मध्ये २ जना निको भएका छन् । दोस्रो धेरै वीपी कोईराला मेमोरियल क्यान्सर अस्पतालमा ४३ जना सङ्क्रमित भएका छन् । अस्पतालका सूचना अधिकारी गिरीनारायण महत्तोका अनुसार चिकित्सक ३ जना, नर्स १९ जना, पारामेडीक्स १ जना, प्रशासनका २ जना र १८ जना सहयोगी सङ्क्रमित भएका छन् ।

पुरानो मेडिकल कलेजमा ३६ जना सङ्क्रमित भएका छन् । कलेजका डा. प्रिया पाठकका अनुसार १० जना चिकित्सक, २० जना नर्स, ३ जना पारामेडीक्स र ३ जना सहयोगी सङ्क्रमित भएका छन् । भरतपुर अस्पतालमा ३० जना सङ्क्रमित भएको सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार चिकित्सक ७ जना, नर्स ९ जना, पारामेडीक्स ४ जना, प्रशासनका २ जना र सहयोगी ८ जना सङ्क्रमित भएका छन् ।

एनपिआई नारायणी सामुदायीक हस्पिटलका ६ जना मध्ये चिकित्सक १ जना, नर्स २ जना, प्यारामेडीक्स १ जना, प्रशासनका १ जना र सहयोगी १ जना रहेको अध्यक्ष डा. भक्तमान श्रेष्ठले जानकारी दिनुभयो । यसैगरी सेन्ट्रल अस्पतालमा ३ जना नर्स र २ जना सहयोगी, मौलाकालिका अस्पतालमा २ जना नर्स र २ जना सहयोगी, आशा अस्पतालमा २ जना नर्स र १ जना पारामेडीक्स, रत्ननगर बकुलहर अस्पतालमा १ जना चिकित्सक र १ जना नर्स, मनकामना अस्पतालमा १ जना नर्स, पुष्पाञ्जली हस्पिटलमा २ जना प्यारामेडीक्स र १ जना सहयोगी सङ्क्रमित भएका छन् ।

स्वास्थ्य कार्यालय चितवनकी जनस्वास्थ्य अधिकृत गिताञ्जली ढकालका अनुसार निजी मेडिकलका ३ जना, नेपाल रेडक्रस सोसाईटीका १ जना प्राबिधिक र एक जना एम्बुलेन्स चालक सङ्क्रमित भएका छन् । त्यसै गरि जिल्लाका सात पालिका मध्ये भरतपुर क्षेत्रमा काम गर्ने ४ जना, खैरहनीमा २ जना र राप्तीमा १ जना स्वास्थ्यकर्मी सङ्क्रमित भएको उहाँले जानकारी दिनुभयो ।

यस्तै अन्य दुई एम्बुलेन्स चालक पनि सङ्क्रमित भएका छन् । उपचारमा अहोरात्र खटिनेहरुनै सङ्क्रमित भए पछि अस्पतालको सेवा सूचारु गर्न कठीन भैरहेको निजी अस्पताल समन्वय समिति चितवनका अध्यक्ष नारायणसंहि कुवरले बताउनुभयो । जिल्लाका स्वास्थ्य संस्था सबैले नियमीत तथ्याङ्क जिल्ला स्वास्थ्य कार्यालयमा अध्याबधिक नगरेको हुँदा संख्या अझ थप हुन सक्ने अनुमान गरिएको छ ।

भरतपुर अस्पताल बिकास समितिका अध्यक्ष डा. भोजराज अधिकारी स्वास्थ्य क्षेत्रमा काम गर्ने चिकित्सक, स्वास्थ्यकर्मी सङ्क्रमित हुँदै गर्दा अन्यले पालो मिलाएर रातदिन उपचार गरेको बताउनुहुन्छ । स्वास्थ्यकर्मी सङ्क्रमित हुँदा अस्पतालहरु नियमित संञ्चालनमा निकै असजिलो हुँने गरेको उहाँको भनाई छ । स्वास्थ्यकर्मीको कन्ट्याक्ट ट्रेसिङ्मा उनीहरुसंग काम गर्ने अन्य स्वास्थ्यकर्मी पनि पर्ने हुँदा अस्पताल वढि प्रभाबित भएका छन् ।

भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डां श्रीराम तिवारी र रत्ननगर वकुलहर अस्पतालका प्रमुख डा. विश्ववन्धु वगाले समेत सङ्क्रमित भए पछि दुई अस्पताल निमित्तको भरमा चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस !