चितवनको भरतपुर महानगरपालिका वडा नम्बर ६ गीतानगरस्थित सर्वोदय सहकारी संस्थामा युरिया मल आइपुगेको जानकारी पाएर बिहान सबेरै लाइनमा बसेका सयौँ किसानहरु रित्तो हात फर्कन बाध्य भएका छन् ।
बुधबार सहकारी संस्थाले वितरण गर्ने जानकारी पाएर सबेरै लाइनमा बसेका सयौं किसानहरु आफ्नो भागमा मल नपरेपछि निराश भएर फर्किए ।संस्थाका सचिव होमनाथ अधिकारीले १ सय २० बोरा मल किसानहरुलाई १० किलोका दरले वितरण गरिएको बताए । यस सहकारीअन्तर्गत विभिन्न वडाका गरी ५ हजारभन्दा बढी किसान आबद्ध छन् ।
मल लिनका लागि सहकारी संस्था अगाडिको सडकमा करिब २ हजार जना किसानहरु लाइन लागेका थिए । मल नपाउने किसानलाई प्रहरीले बल प्रयोग गरेर तितरवितर पारेको थियो ।
सहकारी संस्थाहरुले भने थप मल आएपछि अन्य किसानहरुलाई वितरण गर्दै जाने बताएका छन् ।जिल्लामा प्राप्त भएको करिब २ सय टन अनुदानको मल कृषि ज्ञान केन्द्रको सिफारिसमा एक सय वटा सहकारी संस्थाहरुलाई वितरण गरिएको थियो ।