चितवनः कोरोनाको सङ्क्रमण वढ्दै गए पछि कारागार कार्यालय चितवनमा उच्च सतर्कता अपनाईएको छ । क्षमताभन्दा तीनगुणा बढी कैदीबन्दी रहेको कारागारमा कोरोनाको जोखिम बढे संगै उच्च सतर्कता अपनाईएको हो ।

जिल्लामा कोरोना संक्रमण वढ्दै जाँदा कैदीबन्दीहरुमा कोरोना सङ्क्रमणको जोखिम वढेकाले उच्च साबधानी अपनाईएको कार्यालयका प्रमुख कमल प्रसाद काफ्लेले वताउनुभयो । सङ्क्रमण सुरु हुने समयमानै कैदीवन्दीलाई आफन्तहरुसँगको भेटघाटलाई पूर्ण बन्द गरिएको थियो । गत चैत महिना देखिनै कैदीवन्दीलाई भेटघाट वन्द गरिएको छ । यस्तै कैदीवन्दीहरुलाई पैसा बाहेक अन्य केही दिन पाईने छैन । भित्र ल्याउने साममानहरुमा समेत सेनिटाइज गरेर मात्र पठाईने गरिएको छ ।

कर्मचारीहरुलाई अत्याबस्यक काम वाहेक कार्यालय नआउन र घरमै वस्न भनिएको काफ्लेले जानकारी दिनुभयो । अस्पताल र कारागार पठाउनै पर्ने जटिल बिरामीलाई पिसीआर परिक्षण गरेर मात्र पठाउने गरिएको छ भने अन्य बिरामीलाई आन्तरिक रुपमा औषधिको व्यवस्था गरेर अस्पताल पठाउन बन्द गरिएको छ ।

चिकित्सकले सिफारिस गरेका औषधी कारागारमै ल्याएर नियमित खानेहरुलाई दिने गरिएको छ । औषधी खानेहरुलाई एउटा ब्लक, सरूवा रोग भएकालाई अर्काे र अदालतबाट नियमित आउने थुनुवाहरुलाई क्वारेन्टाइनका रुपमा छुट्टै ब्लकमा राख्ने गरिएको काफ्लेले जानकारी दिनुभयो ।

प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले लकडाउन सुरु भए यतानै कारागारमा उच्च साबधानी अपनाईएको बताउनुभयो । नयाँ कैदीबन्दी थपिदाँ पिसीआर अनिवार्य गरिएको भन्दै उहाँले खाध्यान्न लिएर जानेहरुबाट रोग सर्छकी भन्ने चिन्ता रहेको जानकारी दिनुभयो । उनीहरुलाई पनि बिशेष साबधानी अपनाउन भनिएको उहाँको भनाई छ । कारागारमा धेरै कैदीवन्दी भएकाले सङ्क्रमण छिरेमा नियन्त्रणमा कठिनाई हुने भएकाले सबैको साथ र सहयोग आबश्यक रहेका भट्टराईको भनाई छ ।

अहिले कारागारमा ६ सय ८६ जना कैदीवन्दी रहेका छन् । जस मध्ये ५८ जना महिला र ६ सय २८ जना पुरुष रहेका छन् । ३ आश्रीत बच्चा रहेको काफ्लेले वताउनुभयो । महिलाको क्षमता २५ र पुरुषको क्षमता २ सय ५५ रहेको छ । ती मध्ये नियमित औषधी सेवन गर्ने दीर्घरोगी कैदीबन्दीहरु १८२ जना छन् । नियमित औषधी खानेहरुमा मुटु रोगका ६ जना, उच्च रक्तचापका ७५ जना, मधुमेहका ६३ जना, क्षयरोगका २ जना, थाइराइडका ११ जना, युरिकएसिडका १७ जना, छारेरोगका २ जना, एचआइभीका ३ जना र मानसिक रोगी ३ जना छन् ।

प्रतिक्रिया दिनुहोस !