चितवन: आफन्त गुमाउँदाको पीडा शवलाई अंकमाल गरेर मन हलुङ्गो हुने गरी रोएपछि धेरैलाई सान्त्वना मिल्ने गर्छ । त्यसपछिको आफ्नो धार्मिक परम्परा र सँस्कार अनुसारको अन्त्येष्टि कर्म पूरा गर्दा मृतात्माले शान्ति पाउने र परिवारमा पनि पीडा कम हुँदै जाने गर्दछ । कोरोना महामारीले परम्परा र संस्कारलाई नियमित गर्न नदिए पनि नेपाली सेनाले भने सम्भव हुने जति परम्परा र संस्कार अनुसार अन्त्येष्टि गरेर सहानुभूति लिने र समवेदना दिने गरेको छ ।

कोरोना संक्रमणपछि मृत्यु हुनेहरुको दाहसंस्कारको जिम्मा पाएको नेपाली सेनाले परिवारको अनुरोध अनुसार शवलाई व्यवस्थापन गर्दै आएको छ । सेनाले परिवारले जसरी शवको व्यवस्थापन गर्न भन्छ सोही अनुसार गर्दै आएको छ । यहाँको कालीबहादुर गणले हालसम्म १७ वटा शवको व्यवस्थापन गरिसकेको छ । ती मध्ये १० पुरुष र सात महिला रहेका छन् । १८ वर्षिया युवतीदेखि १०८ वर्षिया बृद्धासम्मको परम्परा अनुसार संस्कार गरिएको छ ।

सेनाले गएको असार १३ गते कैलालीका एक पुरुषको शव व्यवस्थापन गरी यस कामको शुरुवात गरेको हो । गणका गणपति विज्ञान खनाल अनुसार गणमा तालिम प्राप्त टोली नै रहेको छ । १५ जनाको टोलीले छुट्टै आईसोलेसनमा बस्ने गरेको छ ।

खनालले भन्नुभयो “खबर आएको पाँच÷सात मिनेटभित्र नै हाम्रो टोली शव रहेको ठाउँमा पुग्छ ।” उहाँका अनुसार शुरुमा शवलाई निर्मलीकरण गरेर शव बहानमा राख्छ । शव बहानसँगसँगै सेनाको टोली अन्त्येष्टि स्थलमा पुग्ने गर्दछ । भरतपुर महानगरपालिका वडा नं. १ स्थित बागेश्वरी जंगलमा शव व्यवस्थापन गरिंदै आएको छ । खनालले भन्नुभयो “परिवारको ईच्छा अनुसार शवको अन्त्येष्टि गर्छाै । हालसम्म परिवारको अनुरोधमा एउटा शव जलाईएको छ भने अन्य खाल्टो खनेर पुरिएको छ ।”

शव व्यवस्थापन स्थल नजिकै भौतिक दूरी कायम गरेर परिवारले आफ्नो संस्कार र परम्परा अनुसारको धार्मिक विधि पूरा गरिसकेपछि मात्रै शवको व्यवस्थापन हुने गरेको छ । खनालले भन्नुभयो “जुन धर्म र संस्कारको शव छ सोही परम्परा अनुसारको विधि पूरा गरेपछि मात्रै हामीले अन्त्येष्टि गर्दछौं ।” महामारीबीच पनि आफ्नो परम्परा पूरा गर्न पाउँदा परिवारमा सान्तना मिल्ने गरेको छ ।

डोजरले गहिरो खाल्टो खनेर शव व्यवस्थापन गरिंदै आएको छ । एउटा शव व्यवस्थापनका लागि पाँच जनाको समूह परिचालन गर्ने गरिएको छ । अधिकृत वा पदिगले त्यसको नेतृत्व गर्ने गर्दछन् । शव व्यवस्थापनपछि फर्किएको टोली गणको गेटैमा सेनिटराईज गरेर भित्र प्रवेश गराईन्छ ।

गेटको आडैमा रहेको स्नान कक्षमा स्नान गरेर उनीहरु आईसोलेसन कक्षमा पुग्ने गर्दछन् । खनालले भन्नुभयो “१५ दिनसम्म एउटै समूहले काम गर्दछ । त्यसपछि पिसिआर नेगेटिभ आएमा अर्काे समूहलाई परिचालन गरिन्छ ।”

व्यक्तिगत सुरक्षाको पोशाक प्रयोग गरी शव व्यवस्थापनमा टोली पठाउने गरिएको छ । उनीहरुले माक्स, पन्जा, पिपिई लगायतका सम्पूर्ण सुरक्षा पोशाक लगाउने गरेका छन् । खनालका अनुसार हालसम्म शव व्यवस्थापनमा खटिएका कुनै पनि सैनिकलाई कोरोना पोजेटिभ देखिंएको छैन ।

नेपाली सेनाले पाएको यो महत्वपूर्ण जिम्मेवारी उच्च मनोबलका साथ पूरा गरिएको खनालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !