चितवनः पूर्बी चितवनको एक उद्योगमा कार्यरत ५२ जना मजदुरलाई एकै पटक कोरोना सङ्क्रमण देखिए पछि समूहमा काम गर्नेहरु उच्च जोखिममा रहेको देखिएको छ । रत्ननगर नगरपालिका वडा नम्बर ४ मा रहेको त्रिशक्ति खाद्य उद्योगमा रहेका ७६ जना मजदुर मध्ये ५२ जनामा सङ्क्रमण देखिएको छ ।

त्यहाँ रहेका अधिकांश मजदुर तराईका हुन । रत्ननगर नगरपालिका प्रमुख नारायण वनले उद्योग संञ्चालकले साबधानी नअपनाएकै कारण समस्या देखिएको बताउनुभयो । उहाँले भन्नुभयो “उद्योग संञ्चालकले खुरुखुरु मानिस ल्याएछ समस्या देखियो ।”

जनप्रतिनिधिले ध्यान नपु¥याएको भन्दै स्थानीय रुष्ट भएका छन् । यस अघि भरतपुर महानगरपालिका वडा नम्बर ४ मा रहेको जस्मीन पेन्ट्समा पनि ६ जनामा सङ्क्रमण देखिएको थियो । वडा अध्यक्ष हरि आचार्यले त्यहाँका मजदुर अहिले पनि आइसोलेसनमा रहेका छन् भन्नुभयो । उहाँले भन्नुभयो “उद्योगहरुले सावधानी अपनाउन नसक्दा सङ्क्रमण फैलिने डर भयो ।”

लकडाउनकै समय र यस पछि यहाँका उद्योगहरुले स्थानिय तह र प्रशासनको आँखा छलेर मजदुर ल्याएको पाइएको छ । उद्योग भित्र राखेर काम गराएकोमा कम समस्या भए पनि बाहिर बसेकाहरुमा भने समस्या देखिन थालेको छ ।

उद्योग संघ चितवनका अध्यक्ष राजु पौडेलका अनुसार जिल्लामा १ सय जना भन्दा वढि मजदुर भएका ५० वटा, ५० जना भन्दा वढि भएका २ सय र २० जना भन्दा वढि मजदुर भएका ५ सय उद्योग छन् । साना सहित उद्योगको संख्या १ हजार ५ सय भन्दा वढि छ ।
ठूला र मझौला अधिकांश उद्योगमा मधेश र भारतका मजदुर छन् । पौडेल मजदुरलाई भित्र राखेर सामाजिक दुरी कायम गरि काम गर्नु पर्ने धारणा राख्नु हुन्छ । उहाँ भन्नुहुन्छ “मापदण्ड पुरा नगरि उद्योग संञ्चालन गर्नु हुँदैन ।”

स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक तिवारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उद्योग, कलकारखानाका सञ्चालकलाई निजी खर्चमा पिसीआर परिक्षण गर्न निर्देशन गरेको जानकारी दिनुभयो । तर यहाँका उद्योगीले परिक्षण गरेको पाईदैन । कृषि, उद्योग, कलकारखानामा मजदुर ल्याएपछि परिक्षण नगराउँदा समस्या भएको तिवारीको भनाई छ । उद्योग, कलकारखाना जोखिममा रहेको भन्दै उहाँले संञ्चालकले यथाशिघ्र सरकारले भने अनुसार मापदण्ड पुरा गरी परिक्षण गर्नु पर्ने उहाँ बताउनुहुन्छ ।

उद्योग कालकारखानाका मजदुरमा सङ्क्रमण देखिए संगै स्थानीय जोखीम भएको छ । भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले मजदुरहरु संगै व्यापार, व्यावसाय गर्नेहरुमा पनि सङ्क्रमण देखिन थालेको जानकारी दिनुभयो ।

प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई उद्योग, कलकारखानामा वाहिरबाट मजदुर ल्याउँदा अनिवार्य पूर्ब अनुमति लिनु पर्ने भनिएको भए पनि नलिएकै कारण समस्या भएको बताउनुहुन्छ । उहाँले भन्नुभयो“हामीले उद्योग चलाउन सहयोग गर्छौं भन्यौ पुलपुलिए जस्तो देखियो ।” प्रशासनले पटक पटक सूचना जारी गरेर बाहिरबाट मजदुर ल्याउन पूर्ब अनुमति लिने भनेकोमा तीन उद्योगले मात्र अनुमती लिएको उहाँको भनाई छ ।

उद्योगहरुमा कडाईका साथ अनुगमन गरिने र कमी कम्जोरी देखिएमा सङ्क्रमण रोग नियन्त्रण ऐन अन्तर्गत कारवाही गरिने उहाँले जानकारी दिनुभयो ।  जिल्लामा आज दिउँसो १२ वजे सम्म संक्रमितको संख्या ७ सय ९ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस !