चितवनः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता शोभाखर चापागाईको कोरोना संक्रमणबाट आज निधन भएको छ । कोरोना संक्रमणपछि श्वासप्रश्वास र दमको समस्या बढेसँगै भदौ ६ गते भरतपुर अस्पतालमा भर्ना हुनु भएका चापागाईको भरतपुर अस्पतालमा बिहान ७ः२० बजे निधन भएको हो ।

चापागाईलाई भदौ २ गते संक्रमण देखिएको थियो । भरतपुर महानगरपालिका वडा नं. ६ केदरबाग निवासी ८७ वर्षिय चापागाई हाल जेष्ठ कम्युनिष्ट मञ्च चितवनको सदस्य हुनुहुन्थ्यो । कम्युनिष्ट नेता एवं उहाँका समकालिन विष्णु घिमिरेका अनुसार चापागाई बि.सं. २०२५ सालमा गठित ननसेन्टरबाट राजनीतिमा आवद्ध हुनु भएको हो ।

घिमिरेका अनुसार पछि बि.सं. २०२८ सालमा केन्द्रीय न्यूक्लस, २०३१ मा चौथो महाधिवेशन, २०३४ मा कोर्डिनेशन कमिटीको जिल्ला सदस्य, २०३५ सालमा मालेको जिल्ला कमिटी सदस्य, नेकपा (एमाले) जिल्ला कमिटी सदस्य हुँदै हाल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जेष्ठ कम्युनिष्ट मञ्चको सदस्य हुनुहुन्थ्यो ।

जिल्ला नेता हरि सापकोटाका अनुसार चापागाईको राजनीतिसँगै सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान रहेको छ । उहाँकै नेतृत्वमा स्थानीय अन्नपूर्ण दुग्ध उत्पादक सहकारी स्थापना भई हाल नेपालकै उत्कृष्ट सहकारीको रुपमा रहेको छ । सो संस्थाको २२ वर्ष नेतृत्व गर्नुभएका चापागाई स्थानीय विद्यालय व्यवस्थापन समिति लगायत सामाजिक संघ संस्थामा पनि अबद्ध हुनुहुन्थ्यो ।

उहाँ बि.सं. १९९९ असार १९ गते स्याङजाको रामकोटमा जन्मिनु भएको हो । उहाँ बि.सं. २०२४ सालमा बसाई सराई गरी चितवन झर्नु भएको थियो । भतिज शिव चापागाईका अनुसार स्वर्गीय चापागाईका १०२ वर्षका आमा, श्रीमती, पाँच छोरी, एक छोरा र नातिनातिना रहेका छन् । उहाँको निधनपछि नेकपा चितवनले गहिरो दुःख प्रकट गरेको छ ।

प्रतिक्रिया दिनुहोस !