चितवनः चितवन मेडिकल कलेजमा उपचाररत अर्का एक जना कोरोना सङ्क्रमित वृद्धको मृत्यु भएको छ । नवलपरासी सुस्ता पूर्ब बिनयत्रिवेणी गाउँपालिका वडा नम्बर ६ का ६२ वर्षिय वृद्धको आज साँझ मृत्यु भएको हो ।
सामान्य ज्वरो आई भदौ ४ गते अस्पतालमा भर्ना भएका उनको उपचारका क्रममा कोभिड सघन उपचार कक्षमा आज साँझ ५ः५० वजे मृत्यु भएको अस्पतालले जनाएको छ । अस्पतालका निर्देशक डा. दयाराम लम्सालका अनुसार उनको भदौ ५ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
यस्तै आज बिहान सो अस्पतालमा उपचाररत वाराका ४७ वर्षिया एक महिलाको उपचारका क्रममा कोरोना सङ्क्रमणका कारण मृत्यु भएको थियो । यो संगै जिल्लाका अस्पतालहरुमा कोरोना संक्रमणको उपचारका क्रममा मृत्यु हुनेको संख्या १० पुगेको छ । चितवनका एक वृद्धाको भने सङ्क्रमणका कारण घरमानै मृत्यु भएको थियो । मृत्यु हुनेमा चितवनका ४ जना, मकवानपुरका ३ जना, बारा,गोरखा, कैलाली र सुस्ता पूर्ब नवलपुरासीका १÷१ जना रहेका छन् ।