चितवनः चितवन राष्ट्रिय निकुञ्जले आज चित्तलको मासु सहित चार जनालाई पक्राउ गरेको छ । निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको वटुकदल गण प्यारिधाप गुल्म र निकुञ्जको गस्ती टोलिले उनीहरुलाई राप्ती नगरपालिका वडा नम्बर ६ बाट पक्राउ गरेको हो ।

निकुञ्जले दिएको जानकारी अनुसार पक्राउ पर्नेमा राप्ती नगरपालिका वडा नम्बर ६ का ३५ वर्षिया पैगी चौधरी, १९ वर्षिय साजन चौधरी, ३० वर्षिया सुमित्रा चौधरी र एक जना नावालिग रहेका छन् । उनीहरुलाई एकता सामुदायीक वनमा पासो थापि चित्तल मारेको आरोपमा पक्राउ गरिएको हो ।

घटनास्थलमा प्रहरी सहितको टोली गएर चित्तलको मासु र चित्तल थाप्न प्रयोग भएको पासो बरामद गरेको छ । घटनास्थलबाट १२ किलो, पैगी चौधरीको धान खेतबाट पाँच किलो र सुमित्रा चौधरीको खेतबाट एक किलो मासु बरामद भएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिनुभयो । पक्राउ परेकाहरुको अनुसन्धान भईरहेको उहाँको भनाई छ ।

अपराध प्रमाणित भएमा रु २० देखि ५० हजार जरिवाना र ६ महिनादेखि एक वर्षसम्म कैद वा दुबै सजाय हुने व्यवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस !