चितवनः हरेक समयको संकटमा आफ्नो सामाजिक उत्तरदायीत्व निवाह गर्दै आएको चितवन मेडिकल कलेजले अहिले पनि जनताको स्वास्थ्यमा सहयोग गर्ने भएको छ । कलेजले संञ्चालन गरेको पिसीआर प्रयोगशालामा १० हजार नमुना निःशुल्क गर्ने भएको हो ।
कलेजले स्थापना गरेको पिसीआर प्रयोगशालामा जिल्लाका १० हजार नागरिकको परिक्षण निःशुल्क गर्न तयार रहेको जनाएको छ । परिक्षणका लागि आबश्यक रिएजेन्ट उपलव्ध गराउन अनुरोध गर्दै सहयोग गर्न तयार रहेको जनाएको हो ।

अस्पतालका अध्यक्ष एबं प्रबन्ध निर्देशक प्रा.डा. हरिशचन्द्र न्यौपानेले सरकारी प्रयोगशालामा नतिजा आउन एक साता कुर्नु परेको भन्दै तत्कालका लागि आँफुहरु सहयोग गर्न तयार रहेको बताउनुभएको हो । उहाँले भन्नुभयो “एक साता सम्म नतिजा कुर्नु पर्दा सङ्क्रमण फैलिदै गएको छ । हामी सामाजिक उत्तरदायीत्व वहन गरेर सहयोग गर्न तयार छौ ।”

परिक्षणका लागि आबश्यक पर्ने रिएजेन्ट सरकारी तवरबाट मात्रै किनिने भएकाले यसको व्यवस्थापन गरिदिन उहाँले आग्रह गर्नु भयो । सो मेडिकल कलेजले हालै मात्र रु ५ करोड भन्दा वढि खर्च गरेर उच्च स्तरको प्रयोगशाला निर्माण गरेको छ । सो प्रयोगशालाले एक दिनमा १ हजार २ सय देखि १ हजार ५ सय सम्म नमुना परिक्षण गर्नसक्छ । भरतपुर अस्पतालको प्रयोगशालाले दैनिक ५ सय सम्म परिक्षण गर्दै आएको छ ।

कोरोना सङ्क्रमण वढ्दै जाँदा भरतपुर अस्पतालको प्रयोगशालामा पालोमा रहेका नमुना परिक्षणका लागि सहयोग गर्न तयार रहेको न्यौपानेले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “जनताको स्वास्थ्यमा हामी पनि जिम्मेवार छौ । पालोमा रहेका नमुना परिक्षणका लागि अनुरोध पत्र सहित आए निःशुल्क परिक्षणका लागि हामी तयार छौ ।”

अस्पतालको प्रयोगशालामा पिसीआर परिक्षणको चाप वढे पछि नतिजा आउन एक साता कुर्नु परेको हो । गएको साता चाप वढेपछि केही नमुना परिक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र प्रदेश प्रयोगशाला धुलिखेल पठाईएको थियो । कलेजले भरतपुर महानगरपालिकालाई रिएजेन्ट व्यवस्थापन गरेर स्वाब परिक्षण गराउन पनि अनुरोध गरेको छ ।

भरतपुर महानगर प्रमुख रेनु दाहालले कलेजको प्रस्ताब सकारात्मक रहेको भन्दै रिएजेन्टको बिषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सहित माथिल्लो निकायमा छलफल भईरहेको बताउनुभयो । जिल्लामा सङ्क्रमण वढ्दै गए पछि निषेधाज्ञाको तेस्रो साता सुरु भएको छ । हाल सम्म जिल्लामा ५ सय २४ जना सङ्क्रमित पुगेका छन् । जिल्लामा रहेका अस्पतालमा उपचार गराई रहेका ९ जनाको कोरोना संङ्क्रमणका कारण मृत्यु भई सकेको छ भने एक जनाको घरमानै मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस !