चितवनः जिल्लामा रहेको कोरोना संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले थप एक साताका लागि निषेधाज्ञा थप गर्न स्थानीय प्रशासन संग आग्रह गरेको छ । समितिको आज वसेको बैठकले भदौ १९ गते सम्मका लागि निषेधाज्ञा जारी राख्न आग्रह गरेको हो ।

जिल्लामा कोरोना संक्रमण वढ्दै गएपछि साउन ३० गते मध्यरात देखि भरतपुर महानगरपालिका र साउन ३२ गते देखि जिल्लाका अन्य पाँच स्थानीय तहमा निषेधाज्ञा जारी गरिएको थियो । भदौ ५ गते देखि जिल्लाका सबै स्थानीय तहमा निषेधाज्ञा जारी गरिएको छ ।

स्थानीय तहको सिफारीसमा गरिएको निषेधाज्ञा भोली (भदौ १२ गते) मध्यराती सकिदै छ । निषेधाज्ञाको समय सकिन लाग्दा एक साताका लागि निषेधाज्ञाको समय थप गर्न स्थानीय तह, राजनैतिक दलहरुले आग्रह गरेका हुन ।

केहि क्षेत्रमा खुकुलो गर्दै निषेधाज्ञा थप गर्न प्रमुख जिल्ला अधिकारीलाई सुझाव दिइएको राप्ती नगरपालिकाका प्रमुख प्रभा वरालले जानकारी दिनुभयो । बैठकमा प्रदेश सभा सदस्यहरु , राजनितिक दलका प्रमुखहरु , प्रमुख जिल्ला अधिकारी , प्रहरी प्रमुख लगायतको सहभागिता रहेको थियो ।

जिल्लामा अहिले कोरोना संक्रमित ४ सय ७१ पुगेका छन् । जसमा महानगर ३ सय ७, माडीका ५० जना, रत्ननगरका ३८ जन, राप्तीका ७५ जना, खैरहनीका १७, कालिका नगरपालिकाका ५ जना र इच्छाकामना गाउँपालिकाक २ जनामा संक्रमण देखिएको छ । जस मध्ये तीन जनाको मृत्यु भई सकेको छ ।

प्रतिक्रिया दिनुहोस !