चितवनः भरतपुर महानगरपालिकाले कोरोना संक्रमण देखिएका पहिलो चरणका बिरामीलाई प्राकृतिक चिकित्सासंगै उपचार गर्ने भएको छ । श्री वागेश्वरी आध्यात्मीक परिषद योगी नरहरीनाथ आश्रम अन्तर्गन योगी नरहरीनाथ योग तथा प्राकृतिक चिकित्सालय सञ्चालन भएको वागेश्वरीमा आजबाट आईसोलेसन संञ्चालन गरि संक्रमितको उपचार गर्न लागेको हो ।
सो ठाउँमा रहेका २२ वटा मध्ये ५ वटा घरमा रहेका कोठाहरुलाई व्यवस्थित गरि आईसोलेसन वनाईएको छ । एउटा घरमा शौचालय सहितका पाँच कोठा रहेका छन् । यस अघि यहाँको पुरानो मेडिकल कलेजले आवास वनाएको ठाउँमा पछि आश्रमले चिकित्सालय चलाएको हो । चिकित्सालय रहेकै क्षेत्रमा रहेका खालि भवनमा आईसोलेसन संञ्चालन गर्न लागिएको हो ।
भरतपुर महानगर प्रमुख रेनु दाहालका अनुसार आज साँझ सम्ममा आइसोलेसन सबै तयार हुनेछ । आज वाटै बिरामी राखिने उहाँले बताउनुभयो । बिरामी राखेपछि भित्र काम गर्न कठिन हुने भएकाले महानगरले आवश्यक मर्मत सम्भार, रगंरोगन, कार्पेटीङ्, खाटहरु राख्ने, पंखा जडान गर्ने लगाएतका काम गरि सकेको छ । प्रमुख दाहालका अनुसार सुरुमा ७५ जना त्यहाँ राख्न सकीने छ । यहिं विस्तार गरेर २ सय जना सम्म राख्न सकिने उहाँले जानकारी दिनुभयो ।
भरतपुर महानगरले चिकित्सालयसंग सहकार्य गरेर आईसोलेसन सञ्चालन गर्न लागेको हो । यहाँको मर्मत सम्भार, खाना खर्च सबै महानगरले व्यहोर्ने छ । आन्तरिक व्यवस्थापन संगै योग, ध्यान, आवश्यक उपचार चिकित्सालयले गर्ने छ ।
महानगररले प्रबक्ता अरुणपिडित भण्डारीको संयोजकत्वमा वडा अध्यक्ष, कर्मचारी, चिकित्सक रहेको आईसोलेसन व्यवस्थापन समिति गठन गरेको दाहालले जानकारी दिनुभयो । आईसोलेसन, आँपटारीबाट देवघाट जाने सडक संगैको वन क्षेत्रमा छ । दाहालले शान्त, रमणिय ठाउँमा आईसोलेसन भएकाले संक्रमीतको बसाई समय आनन्दमय एबं छिटो निको हुन सहयोगी हुने अपेक्षा गरेको वताउनुभयो । दाहालले प्राकृतिक चिकित्साको माध्यमबाट पहिलो चरणका संक्रमीत छिटो निको हुने विश्वास गरिएको वताउनुभयो ।
चिकित्सालयका प्रमुख डा. हेमराज कोईरालाका अनुसार प्राकृतिक खाना संगै नियमीत व्यायम गराईने छ । सामान्य लक्ष्यण देखिएका पहिलो तहका बिरामीलाई सो आईसोलेसनमा राखिन्छ । बिरामीलाई विहान चार किसिमका फलफुलबाट दिनको सुरुवात गरि साँझ दुध र वेसार संगै खानाको अध्याय सकीने उहाँले जानकारी दिनुभयो । फापरको रोटी, उमारेको गेडागुडीका टुसा, अत्याधिक झोलिलो खाना, जेठीमधु, गुर्जो, मरिच, सुठो,पिप्ला, तुलसीको पानी, दाल,भात, तरकारी जस्ता पौष्टीक तत्व प्रसस्त हुने खाना खुवाईन्छ ।
आईसोलेसनमा बस्नेहरुलाई योग, ध्यान प्रशस्त गराईनेछ । मनतातो पानी एउटा नाकबाट तानेर अर्को बाट फाल्ने जलनिति, मनतातो पानीले कुल्ला, पानी खाएर उल्टी गर्ने जस्ता बिधि प्रयोग गरिने कोईरालाले जानकारी दिनुभयो ।
चिकित्सालयका अध्यक्ष कमल मल्लले प्राकृतिक बिधिबाट उपचार गर्दा संक्रमीत छिटो निको हुने वताउनुभयो । पुरानो मेडिकल कलेजलाई हटाए पछि सो ठाँउको ४ हेक्टर वन क्षेत्रलाई धार्मीक वन क्षेत्र वनाईएको छ । धार्मीक हिसाबले महत्वपूर्ण सो ठाउँमा २ सय स्थानीय जातका गाई रहेको गौशाला, २३ जना वालवालिका भएको गुरुकुल, हवनकुण्ड रहेको मल्लले जानकारी दिनुभयो ।
भरतपुर महानगरले नेपालमा संक्रमण देखिए लगत्तै भरतपुर कोरोना अस्थायी अस्पताल स्थापना गरि भरतपुर अस्पताललाई जिम्मा लगाएको थियो । यस संगै महानगरका २९ वडामा ५० वटा क्वारेन्टिन स्थापना गरि वाहिरबाट आएकाहरुलाई राखेको उपप्रमुख पार्बती शाह ठकुरीले जानकारी दिनुभयो । महानगर क्षेत्रका वासिन्दा संक्रमीत भै प्रथम चरणमा रहेकाहरुलाई अहिले तयार गरिएको आइसोलेसनमा राखिने उहाँले जानकारी दिनुभयो ।
महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीका अनुसार हाल महानगरका ११ वटा क्वारेन्टिन बाँकीरहेका छन् । ती क्वारेन्टिनमा ३९ जना रहेको उहाँले बताउनुभयो । महानगरको क्वारेन्टिनबाट १ हजार १ सय ६ जनाले सेवा लिई सकेको उहाँले जानकारी दिनुभयो । हाल महानगर क्षेत्रभित्र १ हजार २ सय ५४ जना घरकै क्वारेन्टिनमा रहेको उहाँको भनाई छ । घरका एक जनालाई संक्रमण भएमा परिवारका सबैलाई गणना गरि महानगरले निगरानी राख्ने गरेको छ ।
जिल्लाको पूर्बी क्षेत्रमा चार नगरपालिकाले रत्ननगर र माडीले वडा नम्बर ५ मा आईसोलेसन वनाएका छन् । दोस्रो र तेस्रो तहका संक्रमीतलाई भने भरतपुर अस्पताल र दुई मेडिकल कलेजमा उपचार गरिने छ ।