पोखराः गण्डकी प्रदेशमा २० नेपाली सैनिकसहित ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा आज बिहान प्रदेशका कास्की, लमजुङ र नवलपरासीमा गरी २ महिला र ३० पुरुष गरी ३२ जनामा संक्रमण पुष्टि भएको हो ।

प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका अनुसार कास्कीमा २ सङ्क्रमितमध्ये १ जना अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र अर्का विदेशबाट आएर क्वारेन्टाइनमा बसेका व्यक्ति हुन् ।

लमजुङमा २३ जना थपिएकामा २० पुरुष नेपाली सेनामा कार्यरत रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिनुभयो ।

लमजुङका सङ्क्रमित अर्का १ पुरुष बेँसीशहरमा १ जना बैंकमा कार्यरत रहेको बताइएको छ । नवलपरासी बर्दघाट सुस्तापूर्वको गैँडाकोट र कावासोतीमा गरी ७जनामा सङ्क्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

हालसम्म प्रदेशमा सङ्क्रमित १ हजार ९ सय ३६ पुगेका छन् भने १ हजार ६ सय ४३ जना निको भएका छन् । प्रदेशमा सङ्क्रमणबाट निको हुने दर ८४ दशमलव ८६ प्रतिशत रहेको छ ।
हालसम्म गण्डकीमा ८ जनाले कोरोनाबाट ज्यान गुमाएका छन् । प्रदेशमा अहिलेसम्म ४१ हजार ३९१ जनाको पिसीआर विधिबाट कोरोना परीक्षण गरिएकामा ३९ हजार ४ सय ५५ मा सङ्क्रमण देखिएको छैन ।

प्रतिक्रिया दिनुहोस !