चितवनः जिल्लाका ४० जना सहित ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा मंगलबार राति गरिएको परीक्षणमा चितवनको भरतपुर महानगरपालिकाका सबैभन्दा धेरै संक्रमित रहेका छन् । महानगरका ३६ जना संक्रमित रहेका छन् । जस मध्ये २० जना पुरुष र १६ जना महिला रहेको प्रयोगशालाले जनाएको छ ।

पुरुषहरु ५ वर्षीय बालकदेखि ४६ वर्षीय उमेर समूहका छन् भने महिलाहरु ८ वर्षीया बालिकादेखि ५४ वर्ष सम्मका रहेका छन् । उनीहरु भरतपुर–२, ४, ५, ७, ९, १०, ११, १२, १४, १५, १६ नम्बर वडाका हुन् । भरतपुर अस्पताल स्वाब संकलन केन्द्र, वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र पुरानो मेडिकल कलेजबाट गरिएको स्वाब संकलनमा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

यस्तै पूर्वीचितवनको रत्ननगर नगरपालिकाका २७ र ७१ वर्षीया दुई महिला र २४ वर्षीय एक पुरुष गरी ३ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरु रत्ननगर–१, ६ र १३ नम्बर वडाका हुन् । पुरानो मेडिकल कलेज र रत्ननगर क्वारेन्टिनबाट गरिएको स्वाब संकलनमा उनीहरुमा संक्रमण पुष्टि भएको हो । त्यस्तै खैरहनी नगरपालिका–१ का २६ वर्षीय एक जनामा पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । उनले भरतपुर अस्पतालबाट स्वाब दिएका थिए ।

यसैगरि पूर्वी नवलपरासीका २३ वर्षीया एक महिला, रुपन्देहीका ५४ वर्षीया एक महिला, तनहुँका ३८ वर्षीय एक पुरुष र धनुषाका ५४ वर्षीया एक महिलामा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशालाकी प्रमुख डा.अधिकारीले जानकारी दिनुभयो। २१८ नमुना परीक्षणमा यति धेरै संक्रमित फेला परेको यो पहिलोपटक हो ।

चितवनमा संक्रमितको संख्या चार सय नाघेको छ ।

प्रतिक्रिया दिनुहोस !