चितवनः भरतपुर महानगरपालिका भित्र कोरोना संक्रमितको संख्या २ सय ४७ पुगेको छ । यो संगै जिल्लामा कोरोना संक्रमितको संख्या चार सय पुगेको छ ।

जिल्लामा आज थप २१ जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या ४ सय पुगेको हो । आज चितवन मेडिकल कलेजको प्रयोगशालामा गरिएको परीक्षणमा २१ जनाको रिपोर्ट पिजेटिभ आएको थियो । २१ मध्य केहीको रिपोर्ट दोहोरिएकोले संक्रमितको संख्या ठ्याक्कै ४ सय पुगेको भरतपुर अस्पतालका सुचना अधिकारी लीलाधर पौडेलले जानकारी दिनुभयो ।

भरतपुरपछि राप्ती नगरपालिकामा संक्रमितको संख्या बढी छ । राप्तीमा अहिलेसम्म ७५ जनामा कोरोना देखिएको छ । यस्तै खैरहनीमा १५, माडीमा ४१, रत्ननगरमा १५, कालिकामा ५ र इच्छाकामना गाउँपालिकामा २ जनामा कोरोना देखिएको छ । जिल्लाका अस्पतालहरुमा कार्यरत ५७ जनामा श्वास्थ्यकर्मीहरुमा पनि कोरोना देखिएको उहाँले बताउनुभयो ।

सोमबारसम्म जिल्लाभर कोरोना मुक्त हुनेको संख्या १२९ पुगेको छ । हालसम्म चितवनमा कोरोनाबाट तीन जनाको मृत्यु भएको छ । भरतपुर ११ का ६८ बर्षीय पुरुष, खैरहनी ३ की १०८ वर्षीया महिला र रत्ननगर १३ का ६५ वर्षीय पुरुष गरी चितवनमा ३ जनाको कोरोनाबाट मृत्‍यु भएको छ ।

पछिल्लो समय चितवनमा कोरोना संक्रमितको संख्या तिव्र रुपमा बढीरहेको छ । संक्रमण न्युनिकरणका लागि जिल्ला प्रशासन कार्यालय चितवनले भाद्र १२ गते राती १२ सम्मका लागि जिल्लाभर निषेधाज्ञा जारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस !