चितवनः कोरोना भाइरसको जोखिम कम गर्नका लागि चितवनमा निषेधाज्ञा जारी छ । जिल्ला प्रशासन कार्यालय चितवनले भाद्र १२ गते राती १२ बजेसम्मका लागि जिल्लाभर नै निषेधाज्ञा जारी गरेको छ ।
कोरोनाको जोखिम न्युनिकरणका लागि निषेधाज्ञा गरिए पनि यो दिर्घकालिन समाधान भने होइन । चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले हाल जारी निषेधाज्ञा नै कोरोना जोखिम कम गर्ने दिर्घकालिन समस्या नभएको बताउनु भएको छ ।
निषेधाज्ञा तत्कालिन समाधान मात्र भएको भन्दै भट्टराई दिर्घकालिन समाधानका लागि नागरिकको व्यवहारमा परिवर्तन आउन जरुरी रहेको बताउनुभएको हो । निषेधाज्ञा तत्कालिन समाधान मात्र हो उहाँले भन्नुभयो “दिर्घकालिन समाधानका लागि कोरोनाको जोखिम नहुने गरी नागरिकको व्यवहारमा परिवर्तन आउन जरुरी छ ।”
कोरोनाको जोखिम कम गर्नका लागि सबै नागरिक सचेत हुनु पर्ने उहाँको भनाई छ । निषेधाज्ञाको समयमा समेत बिहान बेलुका मानिसहरुको अस्वभाविक आवागमनले जोखिम झनै बढ्दै गएको उहाँले बताउनुभयो। अस्वभाविक आवागमन तत्काल रोकिनु पर्ने र यसका लागि स्थानीय तह, वडा, टोलसुधारहरुले अझै समन्वयकारी भूमिका खेल्नु पर्ने उनको जोड छ ।
यस्तै प्रजीअ भट्टराईले निषेधाज्ञा हेटपछि खुल्ने बैंक तथा वित्तिय संस्था, सरकारी कार्यालय, सपिङ सेन्टर जस्ता भिडभाड हुने क्षेत्रमा स्वास्थ्य मापदण्ड पालना गराउन नसके स्थिती नियन्त्रण बाहिर जाने बताउनुभयो । यो अहिलेको मुख्य चुनौती भएको भन्दै उहाँले आम नागरिक आँफै सचेत हुनुपर्नेमा जोड दिनुभयो ।
यस्तै चितवनमा ट्राभल हिस्ट्री नै नभएका व्यक्तीहरुमा कोरोना देखिन थालेकोले जोखिम समुह एकिन गर्नै कठिनाई हुँदै गएको छ । शुरुमा बाहिरबाट आएका बिरामी कामदार र सार्वजनिक सवारी साधनमा यात्रा गर्नेहरुलाई जोखिम समुहमा राखिए पनि अहिले ट्राभल हिस्ट्री नै नभएकाहरुमा कोरोना देखिदा कठिनाई बढेको भट्टराईले बताउनुभयो ।
चितवनमा अहिले भरतपुर अस्पताल र चितवन मेडिकल कलेज (सिएमसी) को प्रयोगशालामा कोरोना परीक्षण हुँदै आइरहेको छ । संकलित स्वाब मध्य १५ देखि २० प्रतिशतमा कोरोना देखिनेगरेको छ । चितवन अहिलेसम्म ३६८ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । उनिहरुले मध्य १२६ जना निको भएर घर फर्किसकेका छन् भने ३ जनाको मृत्‍यु भइसकेको छ । अहिले २३९ जनामा कोरोना सक्रिय छ ।

प्रतिक्रिया दिनुहोस !