चितवनः जिल्लामा कोभिड १९ का कारण रगतको अभाव भए पछि नेपाली युवा उद्यमी मञ्च चितवनले टोलटोलमा मोवाईल क्याम्प खडा गरि आजबाट रक्तदान अभियान सुरु गरेको छ । मञ्चले पहिलो दिन दुई स्थानमा ३० युनिट रगत संकलन गरेको छ ।

मञ्चका सदस्य अर्जुन रानाभाटका अनुसार पहिलो दिन भरतपुर महानगरपालिका वडा नम्बर ४ को लंकु क्षेत्रको अद्धैत चोक र धर्मचोकमा १५÷१५ युनिट रगत संकलन भएको छ । अभियानलाई निरन्तरता दिईने उहाँले बताउनुभयो ।

मञ्चका अध्यक्ष कृष्ण प्रसाद सापकोटाका अनुसार यस अभियानमा एक स्थानमा १५ देखि २० जनाको मात्र रगत संकलन गरिने छ । हाल जिल्लामा निषेधाज्ञा जारी रहेको छ । नेपाल सरकारको संक्रमण ऐन भित्र रही सम्पूर्ण कार्य गरिने उहाँले जानकारी दिनुभयो । मञ्चले चितवन र छिमेकी जिल्लाका आ–आफ्नो टोलमा संयोजक गरि मिति, समय र टोलको नाम टिपाउन अनुरोध गरेको छ । सापकोटाले भन्नुभयो “यसमा हामी सबैको सहभागिता आ–आफ्नो टोलमा मात्रै रहने छ ।”

यस अघि लकडाउनको समयमा मञ्चले वटुवा र अस्पतालमा रहेकाहरुलाई खाना खुवाएको थियो । अहिले जिल्लामा रगतको चरम अभाव भए पछि रक्तदान अभियान सुरु गरेको हो ।

रक्तसंञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलले कोरोना त्रास र जोखिमका कारण रक्तदाताहरु रगत दिन डराएको बताउनुभयो । उहाँले भन्नुभयो “हामीसंँग जगेडा रगत छैन, विरामीलाई चाहिएमा रगत सट्टापट्टा गरेर चलाएका छौं।”

यसअघि दैनिक ६० पोका सम्म रंगत संकलन हुदै आएपनि निषेधाज्ञा पछि रगत संकलन हुन छाडेको छ । अहिले आकस्मिक बिरामीको लागि पनि रगत पाउने अबस्था नभएको उहाँले बताउनु भयो । पौडेलका अनुसार जिल्लाका अस्पतालहरुमा दैनिक औसत १सय ५० युनिट रगत आवश्यक पर्छ ।

कार्यालयले यसअघि चितवन संगै नवलपुर, बारा, सर्लाही, रौतहट, मकवानपुर लगाएतका जिल्लाबाट रगत संकलन गरेर ल्याउने गर्दथ्यो । अहिले ती जिल्लामा रक्तदान कार्यक्रम भएका छैनन् । रगतको अभावका कारण सुत्केरी र क्यान्सरका बिरामी बढि प्रभाबित भएका छन् । वाहिरी जिल्लाबाट आएका बिरामीका आफन्तले यहाँ रक्तदाता जुटाउन मुस्किल पर्ने गरेको छ ।
कोरोना त्रासका कारण बिगतमा रक्तदान गर्नेहरु समेत अहिले डराएका छन् ।

प्रतिक्रिया दिनुहोस !