चितवनः चितवन राष्ट्रिय निकुञ्जका मरेका हात्तीमा क्षयरोगको जिवाणु देखिए पछि जिउँदो हात्तीको आजबाट नमुना संकनको काम सुरु गरिएको छ । निकुञ्जमा ५९ वटा हात्ती रहेका छन् । निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा. बिजय श्रेष्ठका अनुसार आजबाट सौराहामा क्षयरोग परिक्षणका लागि नमुना संकलनको काम सुरु गरिएको हो । हात्तीको कान वा पुच्छरको नशाबाट रगतको नमुना संकलन गर्न थालिएको छ ।
हात्ती प्रजनन् केन्द्र खोरसोरमा २० वटा र सौराहामा ८ वटा हात्ती रहेका छन् । ती हात्तीको नमुना संकलन गर्न चार देखि पाँच दिन लाग्ने उहाँले वताउनुभयो । त्यस पछि पोष्टमा रहेका हात्तीहरुको नमुना संकलन गरि परिक्षणका लागि पठाईने छ । काठमाडौंको सेन्टर फर मोलिकुलर डाईग्नोसिस नामको निजी प्रयोगशालामा नमुना पठाईने छ । अहिले क्षयरोगको मात्र परिक्षण गरिने उहाँले जानकारी दिनुभयो । सन २००२ यता क्षयरोगका कारण निकुञ्जका १५ हात्ती मरीसकेका छन् । यस अबधिमा अन्य कारण सहित २५ हात्ती मरेको तथ्याङ्गक छ ।
चितवनका हात्तीमा पहिलो पटक सन २००२ मा क्षयरोग देखिएको थियो । यो संक्रमण सन २०१६ सम्म जारीनै रह्यो । त्यतिवेला निकुञ्जका १७, नीजि ४१ र राष्ट्रिय प्रकृति संरक्षण कोषका २ हात्तीमा क्षयरोग देखिएको थियो । त्यस पछिका केही वर्ष संक्रमण नदेखिए पनि सन २०१८ यता क्षयरोगका कारण चार हात्ती मरेको अनुमान छ । श्रेष्ठका अनुसार पछिल्लो पटक यही साउन १९ गते मरेको दिपेन्द्रगजमा क्षयरोगको संक्रमण थियो । यस अघि मरेका तीन वटा हात्तीको पोष्टमाटमका क्रममा फोक्सोमा समस्या देखिएकाले ती हात्तीमा पनि क्षयरोगको संक्रमण भएको अनुमान गरिएको उहाँको भनाई छ ।
यस क्षेत्रमा निजी होटलका पनि ५७ वटा हात्ती रहेका छन् । श्रेष्ठ हात्तीमा दोस्रो चरणमा क्षयरोग देखा परेको अनुमान गर्नुहुन्छ । समयमानै उपचार गर्न सकेमा हात्ती बचाउन सकिने भन्दै उहाँले उपचारको कामलाई तिब्रता दिन लागिएको बताउनुभयो । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ वरालले क्षयरोग परिक्षणको काम तत्काल सुरु गर्न लागिएको बताउनुभयो । क्षयरोग देखिएमा उपचार गरेर हात्तीलाई निको पार्न सकीने भएकाले सबै हात्तीको परिक्षण गरिने उहाँको भनाई छ ।
निकुञ्जका हात्ती बिभिन्न पोष्टहरुमा सुरक्षाका लागि राखिएका छन् भने निजी हात्ती पर्यटक वोक्नका लागि होटलहरुले प्रयोग गर्दै आएका छन् । चितवन राष्ट्रिय निकुञ्ज हात्ती सफारीका लागि अन्तराष्ट्रिय रुपमा प्रख्यात छ । यहाँ सामुदायीक वनमा निजी हात्तीमा पर्यटकलाई घुमाउने गरिन्छ । हात्ती चढेर दुर्लभ वन्यजन्तु हेर्न पर्यटक रुचाउँछन् । हात्तीमा क्षयरोग देखिएमा उपचार गर्न लामो समय लाग्ने र खर्चिलो हुने चिकित्सकहरु बताउँछन् ।