काठमाडौंः विश्वभर कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिरहेको छ । पछिल्ला करिब ८ महिनायता विश्वमा कोरोना भाइरसका कारण ८ लाख ८ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।
हालसम्म विश्वमा २ करोड ३४ लाखभन्दा बढी कोरोना संक्रमित भइसकेका छन् भने १ करोड ५९ लाख भन्दा बढी निको भएका छन् ।
कोरोना भाइरसका कारण सबैभन्दा बढी अमेरिकी नागरिकले ज्यान गुमाएका छन् । जहाँ १ लाख ८० हजारभन्दा बढीको मृत्यु भइसकेको छ भने दोस्रो स्थानमा रहेको ब्राजीलमा १ लाख १४ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् ।
कोरोबाट सर्वाधिक मानिसको मृत्यु हुनेमा अमेरिका, ब्राजील, मेक्सिको, भारत र बेलायत शीर्ष ५ देशमा पर्छन् भने अमेरिका, ब्राजील, भारत, रसिया र दक्षिण अफ्रिका सर्वाधिक बढी संक्रमित भएका ५ देश हुन् ।
रोयटर्सको एक रिपोर्ट अनुसार संसारमा कोरोना भाइरसका कारण हरेक १५ सेकेन्डमा एक जनाको मृत्यु भइरहेको छ ।
दुई सातासम्म अध्ययन गरेर रोयटर्सले यो तथ्य बाहिर ल्याएको हो । यसको अर्थ हरेक दिन ५९ सय, हरेक घन्टामा विश्वमा २४७ जना र हरेक १५ सेकेन्डमा एक जनाको कोरोना भाइरसका कारण मृत्यु हुन्छ ।
नेपालमा हालसम्म ३१ हजार ११७ जना संक्रमित भइसकेका छन् भने १४६ जनाको कोरोना भाइरसका कारण मृत्यु भइसकेको छ । (एजेन्सी)