चितवनः माइतीमा गएर छमछम नाच्ने तीजको दिन आज कोरोना संक्रमणले निषेधाज्ञाका कारण यहाँका महिलाहरु घरवाट वाहीर निस्कन पाएका छैनन् । माइती, मावली जाने त कुरै भएन चोक सम्म पनि निस्कन र भेटघाट गर्न नपाएपछि तीज खल्लो भएको छ । माइतीमा आमा र दिदिवहीनी संग रमाउने तीजमा घरमै रत्यौलीमा झै सासु देउरानी र जेठानीसंग नाचेर तीज मनाउन महीलाहरु बाध्य भएकाछन् ।
भरतपुर महानगरपालिका वडा नम्बर १० कि ८४ वर्षिया बिष्णुमायाँ गौतमले जीवनमा पहिलो पटक यस्तो तिज देख्नुभएको हो । उहाँको जीवनमा फरक फरक तीज देखिए तर यस वर्ष सुनसान भयो । छोरी, नातीनीलाई वोलाएर एक छाक खुवाउन परै जावस घर वाहिर पनि निस्कन नपाएको उहाँको भनाई छ ।
वाल्यकाल, युवा र वुढो हुँदै जाँदा तीजको पारा फेरीदै गए पनि सुनसान चाही यही वर्ष भएको गौतम बताउनुहुन्छ । उहाँले भन्नुभयो “वाँच्यो भने अर्को बर्ष रमाईलो गरि तीज मनाउँला ।” रोगका कारण निषेधाज्ञा भएको र तीज मनाउन नपाएको उहाँलाई थाहा छ ।
तीजको दिन आज जिल्लाका शहरी र ग्रामीण क्षेत्र भरिभराउ हुन्थे । रंगीचङ्गी कपडामा वालिका देखि वृद्धासम्म रमाउने गर्दथे । गाउँ र शहरका ठाउँठाउँमा टेण्ट लगाएर तीज गितका कार्यक्रम गरिन्थ्यो । पाँच वर्ष अघि निकै भड्काउ तीज हुन थालेपछि स्थानीय प्रशासनले नियन्त्रण गर्नु परेको थियो । एक महीना अघि देखि दरका नाममा भोज भतेर हुने गरेको थियो । स्थानीय रेडियोले प्रायोजक खोजेर महङ्गा पुरस्कार राखेर प्रतियोगिता गर्ने गर्दथे ।
स्थानीय कालिका एफएम र टेलिभिजनका निर्देशक दिपक पौडेलका अनुसार आजका दिन नजिकैको शिव मन्दिरमा तीज गित महोत्सब गर्ने गरिएको थियो । वि. सं. २०५९ सालमा रेडियो स्थापना भए यता वर्षेनी आजका दिन भव्य कार्यक्रम गरेको उहाँ बताउनु हुन्छ । पौडेलले भन्नुभयो “पाँच वर्ष अघि सम्म रेडियो परिसरमै ठूलो रासीको पुरस्कार राख्थ्यौं । पछि प्रसासनले रोक लगाएपछि महोत्सब गर्न थाल्यौ ।” पुरस्कार को रासी प्रथम हुनेले रु ६० हजार सम्म दिदाँ १ सय १० समुह सहभागी भएको उहाँले स्मरण गर्नुभयो । त्यतिवेला चितवन, नवलपरासीसंगै छिमेकका जिल्लाबाट पनि प्रतियोगी आउँथे । अहिले भने सुनसान छ । खिचेर सामाजिक सञ्जालमा पठाएका नाच, गित टिभिमा प्रसारण गरिरहेको उहाँले बताउनु भयो ।
भरतपुर महानगरपालिका उपप्रमुख समेत रहनु भएकी नेपाल महिला संघ चितवनकी अध्यक्ष पार्बती शाह ठकुरी रोगको संक्रमणका कारण तीज मनाउन नपाएको बताउनुहुन्छ । उहाँका अनुसार गत वर्षहरुमा जिल्लाको मुख्य वजार नारायणगढमा स्टेज वनाएर भव्य कार्याक्रम गरिन्थ्यो । वडा देखि नगर, क्षेत्र र जिल्लाले दर खुवाउने कार्यक्रम समेत गर्ने गर्दथे । उहाँले भन्नुभयो “सम्भवत जिल्लामा सबैभन्दा ठूलो सहभागिता हाम्रो हुन्थ्यो ।”
सासु, ससुरा, श्रीमान संगै परिवार देखि सरकारका काम कुरालाई गितको भाकामा छेड हान्दै र प्रसय दिदै आ–आफ्ना गित महीलाहरुले गाउने गर्दथे । अखिल नेपाल महीला संघ चितवनकी अध्यक्ष संगीता भट्टराई आफ्नो जीवनमा पहिलो पटक यस्तो तीजमा रमाउनु परेको वताउनुहुन्छ । रोगको संक्रमणको वाध्यता बुझेकै कारण जे जस्तो अबस्था छ त्यसमानै रमाउन उहाँले आग्रह गर्नुभयो । विगतका तिजमा वडा देखि जिल्ला तह सम्मले गरेको रमाईलो सम्झदै अहिले घरमै वसेर तीज मनाउनुको बिकल्प नभएको उहाँले बताउनुभयो ।
जिल्लाका ६ स्थानीय तहमा निषेधाज्ञा जारी गरिरएकाले घरबाट बाहिर निस्कन मिल्दैन । सबै घरघरमै वसेर तीज मनाईरहेका छन् । बुहारीहरुले सासुसंग र सासुले बुहारीसंग नाचेर यस वर्ष घरघरमा तीज मनाउनु परेको छ । कोरोना भाईरसको संक्रमणका कारण वर्षदिनमा आउने महीलाहरुको ठूलो पर्व तीज खल्लो भएको छ । तै पनि रोगको संक्रमणका कारण सबैले भनेका छन् “बाँचिवसे अर्को बर्षको तीज धुमधाम साथ मनाउला ।”
नजिक माईती भए पनि रोगको डरले छिमेकीले के भन्लान भनेर धेरैले छोरी वोलाउन र जान आँट नगरेको भरतपुरकी शारदा शर्माले बताउनुभयो । हिडडुल नै रोक लगाईएको छ । समूहमा वस उठ सम्भावनै नहुने भएकाले राती दर खाएका महीलाहरु आज विहान देखि घरमै सामाजीक सञ्जालमा रमाएर यस वर्ष तीज मनाई रहेका छन् । धेरैले घरमै गरिएका नाचगान सामाजीक सञ्जालमा लोड गरेको देख्न सकीन्छ ।

प्रतिक्रिया दिनुहोस !