चितवनः कोरोना संक्रमणको समयमा चिकित्सक स्वास्थ्यकर्मीलाई सत प्रतिशत जोखिम भत्ता उपलव्ध गराउने बताएको भरतपुर महानगर आफ्नै वोलिमा चुकेको छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले सुरुवाती समयमा स्वास्थ्य कर्मीको मनोवल वढाउन भत्ता दिने वताए पनि अहिले उनीहरु हेरेको हेरेई भएका छन् ।
महानगरको मातहत रहेका हेल्थपोष्टमा कार्यरत स्वास्थ्यकर्मीहरु अहिले भत्ताको आश मारिसकेका छन् । एक कर्मचारीले नाम नखोल्ने सर्तामा भन्नुभयो महानगरका प्रशासनिक कर्मचारीले भत्ता लिईएको भए पनि स्वास्थ्य कर्मीहरुले अहिले सम्म पाउन नसकेको बताउनुभयो । प्रत्यक्ष रुपमा अग्र पङ्गतिमा रहेर काम गर्ने कर्मचारीले भने जोखिम भत्ता पाउन नसकेको बताउनुभयो ।
स्वास्थ्य महाशाखा अन्तगृत कार्यरत अर्का कर्मचारीका अनुसार प्रोत्साहन भत्ता पाउनुत परको कुरा आफ्नै खर्च भएको पैसा समेत पाउन नसकेको बताउनुभयो । । उहाँ लकडाउनको समय देखि नै भरतपुर महानगरमा रहेका क्वारेन्टिनमा खटिनु भएको थियो । अहिले पनि नियमित रुपमा खटिनु भएको छ । तर उहाले वारम्बार सम्पर्क गर्दा समेत प्रोत्साहन भत्ता नपाएको बताउनुभयो । उहाँले भन्नुभयो “दुःख गर्ने हामी भत्ता लिने अरु भए ।” यसले गर्दा प्रशासनका कर्मचारीहरुले स्वास्थ्यका कर्मचारीलाई हेर्ने दृष्ट्रिकोण स्पष्ट भएको उहाँको भनाई छ ।
महानगरको प्रमुख प्रशासकिय अधिकृत देखि बनपाले सम्मले असर २८ गते जोखिम भत्ता पाएका छन् भने महानगराम रहेका ३१ वटा स्वास्थ्य संस्था मध्य कसैले पनि भत्ता पाउन नसकेका हुन् । महानगरमा रहेका २९ वटा वडामा रहेका क्वारेन्टिनमा नियमित काम गर्नेलाई अहिले सम्म प्रोत्साहन भत्ता नपाएका हुन ।
भरतपुर अस्पतालमै कोरोना संक्रमितको उपचारमा संलग्न चिकित्सक, नर्स तथा अन्य प्राविधिक कर्मचारीहरू पनि अहिलेसम्म जोखिम भत्ता नपाएको गुनासो गरिरहेका छन् । उनीहरुले सरकारले दिन्छु भनेको रकमसमेत नदिएको भन्दै काम गर्ने जाँगर र उत्साह पनि हराउँदै गएको बताएका छन् ।
तर, यता भरतपुर महानगरपालिकामा काम गर्ने प्रशासनिक कर्मचारीदेखि पियनसम्मले असार महिनामा नै कोरोना जोखिम भत्ता लिएको खुलेको छ । अझै गज्जबको कुरा के छ भने, महानगरपालिका इन्जिनियर, सुपरभाइजर, वनपालेसम्मले कोरोना जोखिम भत्ता लिएका छन् ।
महाशाखा अनुसार पहिलाको वजेट सकिएको र आगामी वजेटबाट अग्र पंङ्गतीमा रहेर काम गर्नेलाई प्रोत्साहन भत्ता दिईने तयारी गरिएको छ । महाशाखाबाट सबै प्रकृया पुरा गरेर फाईल पठाईएको छ ।
महानगरपालिकाले कोरोना भाइरस संक्रमण रोकथाम वापतको जोखिम भत्ता भन्दै १०२ जना कर्मचारीलाई २१ लाख ९३ हजार ७ सय ९४ रुपैयाँ भत्ता बाँडेको छ । भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीले जोखिममा काम गरेका कर्मचारीलाई सरकारको निर्णय अनुसार जोखिम भत्ता दिइएको दावी गनुभयो ।
सरकारले चिकित्सक तथा ल्याबमा काम गर्ने प्राविधिकहरुलाई दिन्छु भनेको भत्ता नदिएको अवस्थामा महानगरपालिकाले कसरी बाँड्यो भन्ने प्रश्नमा जोशीले महानगरको आन्तरिक स्रोतबाट बाँडिएको बताउनुभयो । स्वास्थ्य महाशाखाका पाँच जना कर्मचारीले प्रोत्साहन भत्ता पाएका छन् भने अन्यले पाउन सकेका छैनन् ।
‘कसैले १० दिनको पाउनुभा’छ कसैले डेढ महिनाको पाउनुभा’छ हिसाब गरेर दिएका छौं’ प्रमुख प्रशासकीय अधिकृत जोशीले भन्नुभयो, ‘जोखिम नभएकालाई दिएका छैनौं ।’






