
चितवनः भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले नेपाली महिलाहरूको महान पर्व हरितालिका तीजको अवसरमा सामुहीक खानपिनका कार्यक्रम नगर्न नगरबासिलाई अपिल गर्नु भएको छ । आज शुभकामना वक्तव्य जारी गर्दै दाहालले कोरोना संक्रमण फैलिरहेको समयमा नित्य कर्मवाहेक धार्मीक क्षेत्रमा भिडभाड नगर्न आग्रह गर्नु भएको हो ।
वक्तव्यमा भनिएको छ “अहिले मानविय स्वास्थ्यको सवाल महत्वपूर्ण छ । महामारीबाट जोगाउन सकिएमात्रै पछि आउने चाडपर्व मनाउन पाईन्छ ।”उहाँले थप्नुभएको छ “यही यर्थाथलाई हृखयगम गर्दै आ–आफ्नै घरमा वसेर, मास्क, स्यानिटाईजरको प्रयोग गर्दै भौतिक दुरी कायम गरी सुरक्षित रुपमा यसपटकको तीज मनाउनुहुन बिनम्र अनुरोध गर्दछु ।
महानगर प्रमुख दाहालले महानगरवासी सम्पूर्ण दिदीबहिनीहरूमा सुख, शान्ति, आपसी एकता, पारिवारिक सद्भाव र सुस्वास्थ्यको हार्दिक शुभकामना व्यक्त गर्नु भएको छ ।
साँस्कृतिक सहिष्णुता र सामाजिक एकताको प्रतीककोरूपमा रहेको यस पर्वमा नेपाली महिलाहरूले आफ्नो सौभाग्य र परिवारजनको समृद्धिका लागि पूजा आराधना र पारिवारिक भेटघाट गर्ने तथा दर खाने प्रचलन रहेको छ । नेपाली मौलिक साँस्कृतिक पर्वले नेपालीहरूलाई एकताको सुत्रमा आबद्ध गर्दै सामाजिक सद्भाव कायम गर्नुका साथै एकआपसमा खुसी साटासाट र मनोरञ्जन गर्ने अवसर समेत प्रदान गर्दै आएको छ ।