चितवनः शिक्षा, स्वास्थ्य र रोजगारी पर्याप्त हुने शहरलाई मानिसहरुले ‘शान’ का रुपमा लिन्छन् । तर त्यही शान अहिले टाउको दुखाई बनेको छ । चितवनमा पर्याप्त स्वास्थ्य सुविधा र रोजगारीका कारण बाहिरी जिल्लाबाट आउने बिरामी र कामदार कोरोना भाईरस (कोभिड १९) का बाहक बन्दा टाउको दुखाई भएको हो ।
जिल्लामा रहेका दुई ठूला सरकारी अस्पताल, दुई मेडिकल कलेज, सुविधा सम्पन्न आँखा अस्पताल र दुई दर्जन निजी अस्पतालमा आउने बिरामी, कृषि, उद्योग र निर्माण क्षेत्रमा काम गर्न आउने कामदारबाट अहिले जिल्लामा कोरोना संक्रमण बढेको आँकलन गरिएको छ । बाहिरबाट आउने कामदारहरु परीक्षण नगरी आउने र यहाँ आएपछि पनि क्वारेन्टिन नबस्दा समस्या बढेको हो ।
अस्पतालहरुमा पर्याप्त सुरक्षा सावधानी अपनाउन नसक्दा पनि कोरोनाको संक्रमण बढेको पाईएको छ । जिल्लाको कोरोना उपचारको हब अस्पताल भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ड सहित सात जना चिकित्सक तथा स्वास्थ्यकर्मी संक्रमित भएका छन् । अर्काे रत्ननगर बकुलहर अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट सहित स्वास्थ्यकर्मीहरु संक्रमित छन् । वीपी कोईराला मेमोरियल क्यान्सर अस्पताल सहित जिल्लाका निजी अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मी पनि संक्रमित भएका छन् ।
भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा.भोजराज अधिकारी सरकारले लगाएको लकडाउन खुले लगत्तै प्रदेश नं. २ का बिरामीले यहाँका अस्पताल भरिएको बताउनुहुन्छ । ती बिरामीहरु बिना परीक्षण आएसँगै संक्रमण फैलिएको उहाँको अनुमान छ । उहाँले भन्नुभयो “मैले दिनमा १० जना बिरामी जाँच्दा चार जना प्रदेश नं. २ का हुने गरेका थिए ।” यसरी आउने अन्य रोगका बिरामीमा कोरोना संक्रमण देखिने गरेको उहाँले बताउनुभयो ।
यससँगै उद्योग, कलकारखाना, कृषि र निर्माण क्षेत्रमा काम गर्न ल्याईएका मजदुर पनि कोरोना संक्रमणको अर्काे कारण बनेको उहाँ बताउनुहुन्छ ।
लकडाउन सकिएसँगै अब कोरोना हट्यो भन्ने मानसिकताले स्वास्थ्य सावधानी अपनाउन नसक्दा समस्या झन जटिल बनेको अधिकारी बताउनुहुन्छ । पहिले परीक्षण कम गर्दा नदेखिएको भए पनि परीक्षण बढाएसँगै संख्या बढ्दै गएको उहाँको तर्क छ ।
अस्पतालहरुले स्वास्थ्यकर्मी चिकित्सकलाई सुरक्षाका लागि सामाग्री दिएको भए पनि पर्याप्त हुन नसक्दा पनि समस्या आएको उहाँको बुझाई छ । उहाँले भन्नुभयो “सुरक्षा सामग्री त दिएका छौं तर विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार चल्न सकिएको छैन ।”
चितवन मेडिकल कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा.डा.हरिश्चन्द्र न्यौपाने ढाँटेर भारतदेखिका बिरामी यहाँ आउने गरेको बताउनुहुन्छ । उहाँले भन्नुभयो “गम्भीर अवस्थामा आएका एक बिरामीले माडीको ठेगाना लेखेकोमा मृत्यु भएपछि भारतबाट आएको भन्दै पिसिआर रिपोर्ट मागे ।” वीरगन्ज क्षेत्रमा कोरोना बढेसँगै उपचार नपाएर त्यस क्षेत्रका बिरामी यहाँका अस्पताल आएसँगै संक्रमण बढ्दै गएको न्यौपानेले बताउनुभयो ।
वीरगन्जतिरबाट आएका बिरामीले हेटौंडासम्म एउटा एम्बुलेन्स र पूर्वी चितवनसम्म अर्काे हुँदै अस्पताल आउँदा तीन÷चार वटासम्म एम्बुलेन्स फेरेर आएको उहाँ बताउनुहुन्छ । यसरी एम्बुलेन्स फेर्दा समेत जोखिम बढी हुने गरेको उहाँको भनाई छ ।
चिकित्सक स्वास्थ्यकर्मीले पिपिई लगाएर काम गर्नै नसकेको न्यौपाने बताउनुहुन्छ । उहाँले भन्नुभयो “सबै ठाउँमा एसी नहुने हुँदा चितवन जस्तो गर्मी ठाउँमा पिपिई लगाएर काम गर्न नसकिने अवस्था छ ।” माक्स समेत लगाउने बानी नभएको भन्दै उहाँले बेलाबेलामा मास्क खोल्ने र हातले छुने गर्दा पनि जोखिम उच्च भएको उहाँले बताउनुभयो ।
भरतपुर अस्पताल विकास समितिका पूर्व अध्यक्ष समेत रहनु भएका प्रदेश सभा सदस्य विजय सुवेदी रोग नियन्त्रणका लागि योजनाबद्ध किसिमले काम गर्न नसकिएका कारण समस्या भएको बताउनुहुन्छ । उहाँले भन्नुभयो “समग्र जिल्लाको रोग निधानका लागि व्यवस्थित योजना भएन । उपचार छ्यासमिस भयो ।”
कोरोनाका संक्रमित र अन्य बिरामी एकै ठाउँमा उपचार गर्दा पनि समस्या भएको उहाँको ठम्याई छ । स्वाब संकलनका लागि पनि अस्पताल नै जानु पर्ने हुँदा त्यो पनि थप जोखिम भएको उहाँको भनाई छ । अगुवाहरुले नै स्वास्थ्य सावधानी नअपनाउदा समुदायमा सकारात्मक सन्देश नदिएको उहाँको भनाई छ ।
लामो लकडाउनपछि स्वास्थ्य सावधानी अपनाउन सकेको भए यो अवस्था नआउने सुवेदी बताउनुहुन्छ । समयमै योजनाबद्ध ढंगबाट काम गर्न नसकेमा अन्य बिरामीले उपचार नपाउने अवस्था सिर्जना हुने उहाँको भनाई छ ।
जिल्ला स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपकबाबु तिवारी लकडाउन खुकुलो भएसँगै कृषि र उद्योग क्षेत्रमा आएका कामदार र विदेशबाट आएका नेपालीले समुदायमा कोरोना फैलाएको बताउनुहुन्छ । लकडाउनको समयमा आएकाहरु क्वारेन्टाइनमा बसेको भए पनि पछि आउनेहरु आफ्नो सुरमा हिडडुल गरिंदिंदा समस्या भएको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो “लकडाउन खुकुलो भएपछि को आयो कता गयो पत्तो भएन, क्वारेन्टाइनमा पनि बसेन, कसैलाई मतलव पनि भएन ।” उहाँले जिल्लामा कोरोना चौथो चरणमा पुगेको र ‘हाइ ट्रान्समिसन’ हुने अवस्था आएको बताउनुभयो ।
उहाँले थप्नुभयो “लकडाउनलाई अझै केही समय कायम नगर्ने हो भने कोरोनाले प्राकृतिक कोर्ष पूरा गर्ने र त्यसले क्षति ठूलो गराउने छ ।” यसबाट ६० प्रतिशत जनसंख्या प्रभावित हुने आंकलन गरिएको पनि उहाँले बताउनुभयो ।
यहाँको वीपी कोईराला मेमोरियल क्यान्सर अस्पतालमा देशका विभिन्न क्षेत्र हुँदै भारतीयहरु पनि उपचारका लागि आउने गर्दछन् । अधिकांश बिरामी सीमावर्ती जिल्लाका हुने गरेका छन् । दैनिक ५०÷६० वटा एम्बुलेन्स बिरामी बोकेर आउने गर्दछन् । यसरी बिरामीको आवतजावत बढी हुँदा कोरोना संक्रमण फैलिएको अस्पतालका कार्यकारी निर्देशक डा.देजकुमार गौतम बताउनुहुन्छ ।
सो अस्पतालमा कार्यरत सात जना स्टाफनर्स र तीन जना सरसफाईका कर्मचारीमा कोरोना संक्रमण देखिएको छ । अस्पतालको अत्यावश्यक बाहेक अन्य सेवा बन्द गरिएको छ । गौतम परीक्षण बिना संक्रमित क्षेत्रका बिरामी धेरै आउँदा रोग फैलिएको बताउनुहुन्छ ।
संक्रमण फैलन नपाओस् भन्नका लागि स्थानीय प्रशासन पहिलेदेखि नै चनाखो नबनेको भने होइन । तर लकडाउन खुलेसँगै स्थानीय प्रशासनको निर्देशन अवज्ञा भएका कारण अहिलेको अवस्था सिर्जना भएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई बताउनुहुन्छ । प्रशासनले जे आँकलन ग¥यो त्यही अवस्था हुँदै आएको भन्दै उहाँले अटेर गरेकै कारण समस्या उत्पन्न भएको बताउनुहुन्छ ।
उहाँले भन्नुभयो “प्रशासनले पटक पटक निर्देशन जारी ग¥यो, तर त्यसको पालना भएन ।” उद्योग, कलकारखाना, कृषि, निर्माणमा काम गर्न आएका मजदुरले पु¥याउनु पर्ने सावधानी नपु¥याउँदा ठूलो समस्या आएको उहाँ बताउनुहुन्छ । वीरगन्जको उपचार सेवा प्रभावित भएसँगै त्यस क्षेत्रका बिरामी उपचारका लागि यहाँ आउनुको विकल्प नभएको भन्दै उहाँले जुन सावधानी अपनाउनु पथ्र्याे, त्यो हुन नसक्दा अहिलेको अवस्था आएको बताउनुहुन्छ ।
भरतपुर महानगरपालिकाको अगुवाईमा जिल्लामा संक्रमण देखिनु अघिनै भरतपुर कोरोना बिशेष (अस्थाई) अस्पताल स्थापना गरिएको थियो । पछि सो अस्पताल भरतपुर अस्पताललाई हस्तान्तरण गरिएको भए पनि हाल बन्द अबस्थामा रहेको छ । संक्रमितको उपचार भरतपुर अस्पतालले मात्रै गरिरहेको छ । पछिल्लो पटक निजी क्षेत्रबाट पुष्पाञ्जली अस्पतालले एक जना संक्रमित राखेर उपचार गरिरहेको छ । भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार ७५ शैयाको भरतपुर अस्पतालको आईसोलेसन कक्ष भरिई सकेको छ । ३० जना घरकै आईसोलेसनमा वसिरहेका छन् । आज एकै दिन थपिएका ५० जना संक्रमितको व्यवस्थापन कसरी गर्ने भन्नेचिन्ता जिल्लामा सुरु भएको पौडेलले बताउनुभयो ।
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल कोरोना अस्पताललाई निरन्तरता नदिएर अरु बिरामी उपचार भएको अस्पताल र घरमा संक्रमित राख्दा रोग फैलिएको बताउनुहुन्छ । लकडाउनको समयमा महानगरले ५० वटा क्वारेन्टिन स्थापना गरेर बिदेशबाट आएकाहरुलाई व्यवस्थित गरेको भए पनि लकडाउन खुले पछि देशकै बिभिन्न क्षेत्रबाट आएकाहरुको व्यवस्थापन गर्न नसक्दा समस्या आएको उहाँको भनाई छ ।
देशैभरिबाट आएका क्यान्सरका बिरामी र प्रदेश नम्बर दुईबाट आएका बिरामीको उचित व्यवस्थापन हुन नसक्दा पनि संक्रमण फैलिएको उहाँ बताउनुहुन्छ । उहाँले भन्नुभयो “लक्ष्यण देखिएर समस्या भएकालाई अस्पतालमा राख्नु पर्छ । अन्यलाई छुट्टै आईसोलेसनमा राखे मात्र रोग फैलनबाट रोकीन्छ ।”
राजधानी काठमाण्डौं जान कडाई गरिएपछि तराईका बिरामीहरुको उपचारको केन्द्र भरतपुर बनेको छ । सबै खालका उपचार हुने भएकाले वीरगन्ज प्रभावित भएसँगै सीमावर्ती क्षेत्रका बिरामी धमाधम यहाँ आउने गरेका छन् ।
हालसम्म जिल्लामा २ सय ५५ जनामा संक्रमण भएको छ । जसमध्ये २९ जना स्वास्थ्यकर्मी र चिकित्सक छन् । जिल्लाको प्रयोगशालामा १५ हजार हाराहारी नमूना परीक्षण भईसकेको छ । जसमध्ये जिल्लाका चार हजार नमूना परीक्षण गरिएको छ ।
संक्रमित मध्ये सबैभन्दा बढी भरतपुर महानगरपालिकाका १३२ जना छन् । यस्तै कालिका नगरपालिकाका पाँच, रत्ननगरका नगरपालिकाका नौ, माडी नगरपालिकाका ४१ जना, खैरहनी नगरपालिकाका सात जना, राप्ती नगरपालिकाका ६० जना र ईच्छाकामना गाउँपालिकाका एक जना रहेका छन् ।
जिल्लामा पछिल्ला दिनहरुमा संक्रमण बढ्दै गएपछि माडी नगरपालिका बाहेक सबै क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ । जिल्लाका उच्च तहका व्यक्तिहरु नै कन्ट्याक्ट ट्रेसिङमा परेकोले अहिले क्वारेन्टिानमा रहेका छन् । प्रदेश सभाका तीन जना सदस्य, भरतपुर महानगरपालिकाका प्रमुख, प्रमुख जिल्ला अधिकारी, राजनीतिक दलका प्रमुखहरु, मेडिकल कलेज र क्यान्सर अस्पतालका प्रमुख लगायत क्वारेन्टिनमा हुनुहुन्छ ।
चितवन देशकै मध्य भागमा पर्दछ । राजधानी काठमाण्डौं, पोखरा लगायतका शहरहरुलाई तराईसँग जोड्ने मुख्य विन्दु चितवन हो । यातायातको सहज पहुँचका कारण पूर्वदेखि पश्चिमसम्मका मानिसहरु सुविधा लिन यहाँ आउने गर्दछन् ।
मेडिकल सिटीका रुपमा परिचय पाएको यो जिल्ला देशकै तेस्रो पर्यटकीय गन्तव्य पनि हो । यस्तै शिक्षाको हिसाबले पनि जिल्ला उत्कृष्ट मानिन्छ । देशभरका ७६ जिल्लाका मानिसहरुको बसोबास यस जिल्लामा छ । जसका कारण विभिन्न जिल्लाबाट मानिसहरुको आवतजावत भईरहन्छ ।