
चितवनः कोरोना भाईरसको त्रास वढ्दै गएको समयमा नेपाल पत्रकार महासंघ चितवन शाखाले पत्रकारहरुलाई अनाबश्यक भिडभाडमा नजान र समाचार संकलनका लागि प्रविधिको उच्चतम प्रयोग गर्दै समाचार सम्प्रेषण गर्न आग्रह गरेको छ । शाखा अध्यक्ष राधेश्याम खतिवडाले आज एक विज्ञप्ति जारी गर्दै सम्भव भएसम्म समाचार संकलनका लागि मानिस नभेटि नहुने भए मात्रै वाहिर जान र जानै परे सामाजिक दुरी कायम गर्न आग्रह गनुभएको हो । ।
कोरोना संक्रमणका कारण स्थानीय प्रशासनले जिल्लाका ६ वटा पालिकामा निषेधाज्ञा जारी गरेको भन्दै बिज्ञप्तिमा पत्रकारहरु पनि उच्च जोखिममा रहेको जनाईएको छ । जारी विज्ञप्तिमा भनिएको छ “उच्च जोखिमको बीचमा पनि आमनागरिकलाई सुसूचित गराउन अग्रपंक्तिमा रहेर हामीले सूचनाको क्षेत्रमा काम गरिरहेकै छौँ ।”
आफ्नो सुरक्षाप्रति अति संवेदनशील रहँदै सम्भव भएसम्म निषेधाज्ञाको अवस्थामा घरभित्रै बस्न विज्ञप्तिमा आग्रह गरिएको छ । विज्ञप्तिमा भनिएको छ “समाचारका लागि सूचना लिनुपर्दा ई–मेल, मोबााइल फोन, टेलिफोन, सामाजिक सञ्जाल आदि माध्यमलाई बढी प्रयोग गरौं । प्रत्यक्ष नभेटी नहुने भएमा मात्रै सामाजिक दूरी कायम गरेर भेटौँ ।”
बाहिर जानै पर्ने भएमा अरुको सवारी साधन प्रयोग नगरी आफ्नै निजी सवारीसाधन प्रयोग गर्न भन्दै विज्ञप्तिमा भनिएको छ “अरुलाई लिफ्ट नदिऔँ र अरुसँग लिफ्ट पनि नमागौँ । आफूले प्रयोग गर्ने सवारीसाधनमा अस्थायीरूपमा ‘पत्रकार’ वा ‘प्रेस’ लेखिएको कागज टाँसौँ । देखिने गरी आफ्नो परिचयपत्र लगाऔँ । यात्राका क्रममा सुरक्षाकर्मीले सोधपुछ गरेमा सहजरूपमा विवरण टिपाऔँ ।”
स्वास्थ्य संस्था, स्वास्थ्यकर्मी र बिरामीको प्रत्यक्ष सम्पर्कबाट टाढै रहन आग्रह गर्दै भिडभाडमा नजान, अपरिचित, शंकास्पद र बाहिरका वस्तु नछुन, आफूले प्रयोग गर्ने सञ्चारसामग्रीहरु नियमित सेनिटाइज गर्न र अन्य साथीहरुले प्रयोग गर्दै आएका सञ्चार साधनहरु सकेसम्म प्रयोग नगर्न जारी विज्ञप्तिमा भनिएको छ ।
संकटको समयमा भ्रमको महामारी झनै खतरा हुने भएकाले त्यस्ता भ्रमलाई चिर्नका लागि सत्यतथ्य सूचना संकलन गरी प्रकाशन÷प्रसारण गर्न पत्रकारहरुलाई आग्रह गर्दै विज्ञप्तिमा भनिएको छ “हतारो र अनावश्यक प्रतिस्पर्धा नगरी आधिकारिक नियकाबाट अधिकारिक व्यक्तिले दिएको सूचनलाई मात्र प्राथामिकता दिने गरौँ । बरु ढिलो दिऔँ, सत्य खबर मात्रै दिऔँ ।”
संक्रमित व्यक्ति वा प्रभावितको सन्दर्भमा समाचार लेख्दा व्यक्तिगत गोपनीयता र आत्मसम्मानको विशेष ख्याल राख्न महासंघले आग्रह गरेको छ । पत्रकारहरुले सामाजिक सञ्जालमा पोष्ट गर्ने विषयले खास अर्थ राख्ने भन्दै सामाजिक सञ्जालमा विषयहरु लेख्दा र पोष्ट गर्दा विशेष ख्याल राख्न महासंघले स्मरण गराएको छ ।