
चितवनः नारायणी नदीले गैंडाको बच्चा (केटो) बगाएको छ । चितवन राष्ट्रिय निकुञ्जको पश्चिमी सेक्टर अन्तर्गत नवलपरासीतर्फको सेरीधजाबाट शनिबार बग्दै गरेको केटो देखिएपछि उद्धारको प्रयास गरिएको छ ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार अन्दाजी दुई÷तीन वर्षको केटो खोजीका लागि सम्बन्धित पोष्टहरुबाट परिचालन गरिएको भए पनि उद्धार गर्न नसकिएको हो । उहाँले भन्नुभयो “कतै उत्रियो वा बगेर गयो, थाहा हुन सकेन ।”
यस अघि बि.सं. २०७४ सालमा आएको बाढीसँगै बढेको राप्ती र नारायणीले बगाएर धेरै गैंडा भारत पुगेका थिए । भारत र नेपाली सीमाबाट १३ वटा गैंडा उद्धार गरी निकुञ्ज ल्याईएको थियो । अरु थप गैंडा भारतीय भूमिमा भएको अनुमान छ । यस वर्ष पनि गत साता राप्ती नदीमा डुवेको अवस्थामा गैंडा मृत भेटिएको थियो ।
बरालले अर्काे गैंडाले हानेर गम्भीर अवस्थामा नदी तर्ने क्रममा भाँसिएर मरेको अनुमान गरिएको बताउनुभयो । निकुञ्ज हुँदै ठूला दुई राप्ती र नारायणी नदी बग्ने गर्दछन् । हरेक वर्षको वर्षायाममा ती नदी बढेर वन्यजन्तु बगाउने गर्दछ ।