चितवनः परम्परागत कृषि, रोजगारी गर्ने पूर्खाहरुको पेशालाई छाडेर उद्योगतर्फ होमिएका युवाहरु सफल भएका छन् । परम्परागत पेशा व्यवसाय छोडेर रोजगारीतर्फ नलागि आफै रोजगार सिर्जना गर्न लागेका उनीहरु अहिले सफल व्यवसायी बनेका हुन् ।
नेपालमा अधिकांशले पूर्खाहरुले गर्दै आएको पेशा व्यवसायलाई निरन्तरता दिने प्रचलन रहेको छ । शिक्षक, कर्मचारीको छोरा छोरी त्यही पेशामा लाग्नेहरु धेरै छन् । तर पुर्खाैली परम्परालाई पर छाडेर उद्योगतर्फ लागेका युवाहरु अहिले सफल व्यवसायी बनेर समाजका प्रेरणका श्रोत बनेका छन् ।
भरतपुर महानगरपालिका वडा नं. १० निवासी दिनुप बराल जिल्ला शिक्षा अधिकारीका छोरा हुनुहुन्छ । उहाँको बुबा लामो समय विद्यालयको प्रधानाध्यापक हुनुभयो । तर दिनुप भने आफ्नो शुरुवाती जीवन नै उद्योगतर्फ लगाउनुभयो ।
निर्माण व्यवसायबाट उद्यमी बन्नु भएका बरालको भरतपुर महानगरपालिका वडा नं. ४ मा ईको पोलिमर नामक उद्योग छ । जुन उद्योगले पानी टंकी, पिपिआर पाईप, पाईप फिटिङ्गहरु, प्लाष्टिकका भाडाहरु उत्पादन गर्दछ । जुन उद्योगमा रु.५० करोडभन्दा बढी लगानी भएको बराल बताउनुहुन्छ ।
उद्योगमै रहेर ९० जनाभन्दा बढीले रोजगारी पाएका छन् । नौ वर्ष अघिबाट युवा उद्यमी बरालको यो उद्योग सफल रुपमा चलिरहेको छ । उहाँले भन्नुभयो “म सानैदेखि उद्योग गर्नुपर्छ भन्ने ध्यान थियो ।” बुबाले पनि उद्यमी बन्न आफूलाई प्रेरणा दिएको बराल बताउनुहुन्छ ।
रोजगारीबाट आफूलाई मात्रै हुने तर उद्योगले अरुलाई पनि रोजगारी दिन सक्ने भएकाले आफ्नो ध्यान उद्योगतर्फ गएको उहाँको भनाई छ ।
भरतपुर महानगरपालिका वडा नं. ३ बेलचोकका युवा उद्यमी लक्ष्मण अर्याल नेपालकै चिनिएका उद्यमी हुनुहुन्छ । उहाँ जस्मिन पेन्टस्, जगदम्बा प्लाष्टिक, सन केमिकल, एभोकार्डाे ईन्टरनेशनल, टाटा मेटल एण्ड क्राफ्ट, निसिका फाउण्डेशन लगायतका संस्थासँग आवद्ध हुनुहुन्छ । पुर्खाैली व्यापारतर्फ नलागि अर्याल उद्योग क्षेत्रमा लाग्नु भयो ।
एभोकार्डाे व्यापार र फाउण्डेशन सामाजिक संस्था हुन् भने अन्य उद्योग हुन् । उहाँको दरबार फुड्स नामक उद्योग पनि सञ्चालनको तयारीमा छ । जस्मिन एकल कम्पनी हो भने अन्य साझेदारी कम्पनी हुन् । अर्यालका अनुसार यी सबै कम्पनीमा रु.५ अर्बभन्दा बढी लगानी भईसकेको छ । आफ्नो २५ वर्षको उद्यमी जीवनलाई सफल मान्नु हुने उहाँले सानैबाट उद्योगमा आकर्षण भएको बताउनुहुन्छ । उहाँले भन्नुभयो “आफू मात्रै नभएर देशका लागि केही दिन उद्योग नै गर्नुपर्छ भनेर यसतर्फ लागेको हुँ ।”
देशलाई आत्मनिर्भर बनाउन उद्योगको विकास गर्नुपर्ने अर्यालको जोड छ । आफूले आम्दानी गरेको केही हिस्सा फाउण्डेशन मार्फत् सामाजिक क्षेत्रमा खर्च गर्ने गरेको उहाँले बताउनुभयो ।
१३ वर्षको रोजगारीपछि उद्योगमा आउनु भएका शंकरप्रसाद कँडेल चितवनको पोल्ट्री क्षेत्रमा चिनिएको नाम हो । पुर्खाैली परम्परागत कृषि खेती भए पनि युवा उमेरदेखि नै कँडेल उद्योगतर्फ आकर्षित हुनुभयो । उहाँको जीवनको १३ वर्षको जागिरे अनुभव अहिलेको आफ्नो उद्योगका लागि सहयोगी भएको छ । अनमोल फिड्स प्रा.लि. (कुखुराको दाना उद्योग) सँगै ह्याचरी पनि सञ्चालनमा छन् । सामुहिक व्यापारमा लाग्नु भएका कँडेलको समूहले रु.१ अर्बभन्दा बढी उद्योगमा लगानी गरेको छ ।
कँडेलले भन्नुभयो “जागिर खाँदा मेरो लागि मात्रै हुन्थ्यो, अहिले धेरैका लागि रोजगारी भएको छ ।” देशैभर दाना पु¥याउँदै आएको अनमोलले धेरै किसानलाई स्वरोजगार बनाएको कँडेल बताउनुहुन्छ । तपाई कसरी उद्योगमा आउनु भयो ? भन्ने प्रश्नमा उहाँको जवाफ छ “काम सिक्दै गएपछि साथीभाई मिलेर उद्योग गर्ने सोचको विकास भयो ।”
उद्योग संघ चितवनका अध्यक्ष राजु पौडेल तीन वटा उद्योगका मालिक हुनुहुन्छ । भरतपुर महानगरपालिका वडा नं. १५ निवासी पौडेलका लाईभ केयर फर्मासिटिकल्स, हाइड्रो केयर इन्टरनेशनल, रोज प्रिन्टिङ एण्ड प्याकेजिङ उद्योग रहेका छन् । यसैगरी प्रिकेयर इन्टरनेशनल नामक व्यापार कम्पनी पनि उहाँको छ । यी कम्पनीहरुमा रु.४० करोडभन्दा बढी लगानी भएको उहाँले जानकारी दिनुभयो ।
यी उद्योगहरुमा उहाँसँगै नेतृत्व उहाँले गरेपनि साझेदारीहरु पनि रहेका छन् । १५ वर्ष अघिदेखि उहाँका यी उद्योग सफल रुपमा चलिरहेका छन् । बुबा शिक्षक भएकाले पढाईमा उहाँको ध्यान गयो । तर पढाई पूरा गरेसँगै उहाँले रोजगारी त गर्नुभयो त्यसबाट अनुभव सँगालेर उद्योगतर्फ लाग्नुभयो । पौडेल भन्नुभयो “मैले शुरुमा तीन वर्ष ६ महिना रोजगारी गरेँ, त्यहीबाट सिकेको सीपले उद्योग खोल्न सहज भयो ।”
उद्योग खोल्नु अघि लाइभ केयर नामक कम्पनीसँगै मल्टिनेशनल कम्पनीहरुमा पनि छोटो समय उहाँले रोजगारी गर्नुभयो । तत्कालिन त्रिभुवन विश्वविद्यालयको रामपुर क्याम्पसबाट कृषिमा स्नातक गर्नुभएका पौडेलले पछि अर्थशास्त्रमा स्नातकोत्तर गर्नुभयो । यो पढाईले उहाँलाई रोजगारतर्फ नलगि उद्योगी बनायो । उहाँले भन्नुभयो “पढाई सकेर, घरमै कृषि कर्ममा लागेको थिएँ, साथीभाईले रोजगारीमा ल्याए, रोजगारीले उद्योगी बनायो ।”
पछिल्लो समय आधुनिक पोल्ट्री व्यवसायमा लाग्नु भएका रत्ननगरका बिनोद पोखरेल पुर्खाैली पेशा ठेक्कापट्टा हो । तर अहिले उहाँ नेपालको चिनिएको पोल्ट्री व्यवसायी हो । रत्ननगरमा किसान दाना उद्योग र दाउन्ने भेट फर्मा उहाँकै नेतृत्वमा चलेको छ ।
नवलपरासी (सुस्ता त्रिवेणी पूर्व) को बिनय त्रिवेणी गाउँपालिकामा उहाँको ठूलो कुखुरा फर्म छ । जहाँ दाउन्ने एग्रोफर्म, किसान एग्रो फर्म र एड्भान्स पोल्ट्री फर्म सञ्चालिन छन् । यस क्षेत्रमा मात्रै रु.१ अर्ब ५० करोडभन्दा बढी लगानी भएको पोखरेल बताउनुहुन्छ ।
पोल्ट्री क्षेत्रका व्यवसायीहरु साझेदारी रहेको यस कम्पनीको नेतृत्व पोखरेलले गर्दै आउनु भएको छ । विगत २७ वर्षदेखि आफू पोल्ट्री क्षेत्रको उद्योगी हुँदै आएको उहाँ बताउनुहुन्छ । उहाँले भन्नुभयो “मैले आफू स्वतन्त्र भएर काम गर्नका लागि रोजगारी नरोजी उद्योगतर्फ लागेँ ।” यसबाट धेरैलाई रोजगारी दिन पाएकोमा खुशी लागेको भन्दै उहाँले निरन्तर मिहिनेत ग¥यो भने सफल भईन्छ भन्ने आफूले अनुभव गरेको सुनाउनुभयो । नेपालमा अहिले अण्डाको सबैभन्दा ठूलो व्यापारीको रुपमा पोखरेल चिनिनु हुन्छ ।
कलिलो उमेरमा विदेश गएकाहरु पनि स्वदेश फर्किएर उद्योगमा लाग्नेहरुको संख्या ठूलो छ । युवा उद्यमी एवं उद्योग वाणिज्य महासंघ बागमतीका उपाध्यक्ष राजन गौतम पुरानो पेशालाई निरन्तरता दिने भन्दा नयाँ उद्यमी बन्ने क्रम बढेको बताउनुहुन्छ । पछिल्लो १० वर्षको अवधिमा युवाहरुमा अब नेपालमा सहज वातावरण बन्छ भन्ने लागेर उद्योगतर्फ आकर्षित हुनेको संख्या बढेको उहाँको भनाई छ ।
गौतमले भन्नुभयो “उद्योग गर्ने वातावरण सन्तोषजनक नभए पनि केही त गर्नै पर्छ भन्ने भावनाका साथ लाग्नेहरुको संख्या पनि ठूलो छ ।” विदेशमा गएर आर्जन गरेको लगानीले नेपालमा उद्योग खोल्ने क्रम पनि बढेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “पछिल्लो समय रेमिट्यान्सलाई उद्योगमा लगाउनु पर्छ भन्ने भावनाको विकास भएको छ ।” बैंकहरुले उद्योगलाई प्राथमिकतामा राखेर ऋण लगानी गर्न थालेपछि थप आकर्षण बढेको गौतमको अनुभव छ ।
सफल यी युवा उद्यमीहरु युवाहरुलाई रोजगारीमा भन्दा सानो भएपनि उद्योगतर्फ लाग्न आग्रह गर्नुहुन्छ । नेपालमा उद्योगको सम्भावना धेरै रहेको बताउँदै उहाँहरुले विदेश जाने खर्चले त नेपालमै साना तिनो उद्योग शुरु गर्न सकिने बताउनुहुन्छ । उहाँहरुको भनाई छ “एकै पटक ठूलो प्रतिफल नखोजी सानोबाट शुरु गर्ने हो भने नेपालमा उद्योग क्षेत्रको भविष्य उज्ज्वल छ ।” नेपालको परनिर्भरता घटाउन पनि राज्यले युवाहरुलाई उद्योगतर्फ आकर्षित गर्नुपर्ने सुझाव उहाँहरुको छ ।
चितवन उद्योग संघको तथ्यांक अनुसार जिल्लामा २ हजारभन्दा बढी उद्योगहरु रहेका छन् । ती उद्योगहरुमध्ये ७० प्रतिशत पुर्खाैली उद्योग नभएर नयाँ युवाहरुले सञ्चालन गरेका छन् । उद्योग गर्नेहरु युवाको जमात बढ्दो छ ।






