चितवनः कोरोना भाईरसको संक्रमण बढे संगै जिल्लामा रातको समयमा हिड्डुलमा रोक लगाईएको छ । जिल्ला बिपत व्यवस्थापन समितिको बैठकले मंगलबार देखि राती ९ वजेबाट विहान ५ वजे सम्म हिडडुलमा रोक लगाएको हो ।
बैठकले रातको समयमा सवारी साधन र मानिसहरुको पैदल आवागमनमा रोक लगाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार राजनीतिक दल संघसंस्था लगायत सबैले २५ जना भन्दा बढि मानिस भेला भएर गरिने बैठक, आमसभा, साधारण सभा लगायतका कार्यमा रोक लगाईएको छ ।
चियापसलहरुमा वसेर चिया खाने प्रबृतिलाई निरुत्साहित गर्ने र खाजाघर तथा राजमार्ग क्षेत्रका पसलहरुलाई प्याकेटमा खाना खाजा प्याक गरी प्रदान गरिने टेक अवे सेवा संञ्चालन गर्ने, राति ९ बजे पछि विहान ५ बजे सम्म सेवाग्राहीलाई दिने सेवा बन्द गर्ने निर्णय भएको छ ।
अन्य जिल्ला तथा छिमेकी मूलुकबाट अनुमती विना जिल्लामा प्रवेश गर्न सक्ने मानिसहरुका कारण कोभिड १९ को संक्रमणको जोखिम बढेको देखिएको बैठकको निस्कर्ष छ । त्यसरी प्रवेश गर्न नदिन जिल्ला प्रवेश गर्ने नाकाहरुमा हुने गरेको चेकजाँचलाई थप प्रभावकारी बनाई निरन्तरता दिने, विदेशबाट आउने नेपालीहरुलाई होल्डिङ्ग सेन्टर मार्फत सम्बन्धित स्थानीय तहसंग समन्वय गरी क्वारेन्टीनमा पु¥याउने व्यवस्था गर्ने निर्णय पनि बैठकले गरेको छ ।
बैठकले आफ्नो क्षेत्रमा मानिसहरुले मास्क लगाए नलगाएको, सार्वजनिक स्थानहरुमा भौतिक दुरी कायम गरे नगरेको, बैंक तथा वित्तिय संस्था, चिया पसल, होटल, सार्वजनिक यातायात, व्यापारिक मल, सरकारी कार्यालयहरुमा स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गरे नगरेको कडाईका साथ अनुगमन गर्ने निर्णय गरेको छ । यी संगै उद्योग तथा व्यापारिक प्रतिष्ठानहरुमा बाहिरबाट कामदार ल्याए÷नल्याएको र कामदारहरुको स्वास्थ्य सुरक्षामा उचित ध्यान दिए नदिएको अनुमगन गर्न स्थानीय तहमा सम्बन्धित वडाका वडा अध्यक्षको संयोजकत्वमा प्रहरीको समेत सहभागिता रहने गरी अनुमगन समिति बनाई अनुगमन गर्ने निर्णय गरिएको उहाँले जानकारी दिनुभयो ।
यसैगरि साविक देखि नै व्यवस्थापन हुदै आएका सार्वजनिक क्वारेन्टीनहरुलाई थप व्यवस्थित बनाउने निर्णय गर्दै सार्वजनिक क्वारेन्टिनमा वस्न नसक्ने विरामी, जेष्ठ नागरिक, ५ वर्ष मुनिका बालबालिका र अशक्त व्यक्तिलाई मात्र घरमा स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गर्न सक्ने अवस्था भएको सुनिश्चित गरी होम क्वारेन्टीनमा राख्न दिईने भएको छ ।
बैठकले जिल्ला स्वास्थ्य कार्यालय संगको समन्वयमा कन्ट्याक्ट ट्रेसिङ्ग र स्वाव संकलन गर्ने, कोभिड १९ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि स्थानीय रेडियोबाट सूचना संप्रेषण, माइकिङ्ग लगायतका कार्य गरी जनचेतना अभिवृद्धि गरिने भएको छ । सबै उद्योग तथा व्यापारिक प्रतिष्ठानहरुलाई अर्को सूचना नभए सम्मका लागि स्थानीय तह र प्रशासन कार्यालयको पूर्वस्वीकृति विना बाहिरबाट कामदार नल्याउन, हाल कार्यरत रहेका अन्य जिल्ला र छिमेकी मूलुकका कामदारहरुको यथार्थ विवरण फरक नपर्ने गरी ३ दिन भित्र जिल्ला प्रशासन कार्यालयमा अनिवार्य रुपमा पेश गर्न निर्देशन दिने निर्णय गरेको भट्टराईले जानकारी दिनुभयो ।
कोभिड १९ को संक्रमण देखा परेका स्थानहरुमा तत्काल कन्ट्याक्ट ट्रेसिङ्ग र समुदाय स्तरमा पिसिआर परिक्षण वढाउने निर्णय गरिएको छ । आम नागरिकहरुमा कोभिड १९ बाट बच्न अपनाउनु पर्ने मास्कको प्रयोग, सामाविक दुरी र जथाभाबि हिड्डुल रोक्न जनचेतना जगाउने निर्णय भएको भट्टराईले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !