चितवनः नेपालमा लायन्स क्लबस् ईन्टरनेशनलको स्थापना भएको आजबाट स्वर्ण वर्ष शुरु भएको छ । सन् १९७१ अगस्ट ९ तारिखका दिन पूर्व प्रधानमन्त्री मातृकाप्रसाद कोईरालाको अध्यक्षतामा नेपालमा पहिलो लायन्स क्लबस् बिराटनगर गठन भएको थियो ।

यस अवधिमा नेपालमा लायन्स क्लबस् ईन्टरनेशनलका ३२५ अन्तर्गत चार वटा डिष्ट्रिक रहेका छन् । जसमा १ हजार चार सय क्लब मार्फत् ३४ हजार सदस्य समाजसेवामा सक्रिय रहेका छन् ।

लायन्स क्लबस् ईन्टरनेशनल ३२५ बी २ का प्रथम भाईरस गभर्नर रामप्रसाद भट्टका अनुसार लायन्सकर्मीहरुले नेपालमा खुशीयाली साटेर स्थापना दिवस मनाईरहेका छन् । लायन्स क्लबस् ईन्टरनेशनलका पूर्व अध्यक्ष डा. नरेश अग्रवाल, हालका द्वितीय भाईस प्रेसिडेन्ड डा. पप्पी हिल र वर्तमान अन्तर्राष्ट्रिय निर्देशक डा. संजय खेतानले विद्युतीय माध्यमबाट शुभकामना सन्देश प्रवाह गरी दिवसको शुभारम्भ गर्नुभएको छ । उहाँहरुले नेपालमा लायन्सको स्थापनासँगै समाजसेवामा पु¥याएको योगदानको तीनै जनाले खुलेर प्रशंसा गर्नुभएको भट्टले जानकारी दिनुभयो ।

भट्टका अनुसार आज साँझ देशैभरी ठाउँठाउँमा दीप प्रज्ज्वल गरिंदैछ । उहाँको डिष्ट्रिकले मानव सेवा आश्रमका १९ वटा शाखामा आज बिहान त्यहाँ रहेका १ हजार १ सय आश्रितहरुलाई भोजन गराएको छ ।

यसैगरी आज भरतपुरको चौबीसकोठीमा पाँच हजार ५ सय माक्स र ग्लोब्स विभिन्न व्यक्ति तथा संस्थाहरुलाई वितरण गरेको छ । चितवनकै भण्डारामा रहेको स्वास्थ्य चौकीलाई १ हजार माक्स, ग्लोब्स र सेनिटाईटर उपलब्ध गराईएको उहाँले जानकारी दिनुभयो ।

नवलपरासीको गैंडाकोटमा विद्यालयमा वृक्षारोपण गरिएको छ भने बुटवलमा कोभिड १९ परीक्षण प्रयोगशाला निर्माण गरी हस्तान्तरण गरिंदै छ । भट्टका अनुसार देशैभर विभिन्न कार्यक्रमका साथ लायन्सको स्थापना दिवस मनाईएको छ ।

प्रतिक्रिया दिनुहोस !