चितवनः प्रधानमन्त्री केपी शर्मा ओलीले रामको जन्मभूमी नेपालमा भएको प्रमाण जुटाउन सबै एक हुनु पर्ने बताउनुभएको छ । शनिबार माडीका जनप्रतिनिधिहरु संगको छलफलका क्रममा उहाँले सरकारले त्यहाँको बास्तबिकता वुझ्न उत्खनन गर्ने तयारी गरेको भन्दै यसमा सबै एक भएर लाग्नु पर्ने बताउनुभएको हो ।
प्रधानमन्त्री संगको भेटमा सहभागी माडी नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष शिबहरी सुवेदीका अनुसार प्रधानमन्त्रीले सरकारको काममा सबैको सहयोग आबश्यक रहेको बताउनु भएको छ । रामको जन्मभूमी नेपालमा भएको र यसलाई यथार्थमा परिणत गर्नु अहिलेको आबश्यकता रहेको बताउनुभएको सुवेदीले जानकारी दिनुभयो ।
“ऐतिहाँसिक प्रमाणहरुले यही बोल्छ प्रधानमन्त्रीले भन्नुभयो” सुबेदीको भनाई थियो । नगरपालिकाको नाम समेत अयोध्या राख्न प्रधानमन्त्रीले सुझाब दिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “प्रधानमन्त्रीले रामनवमीका दिन अयोध्यापुरीमा मेला उत्सब मनाउने तयारीमा गर्न आग्रह गनुभएको छ ।”
सो अबसरमा प्रधानमन्त्रीले माडीको सांस्कृतिक, ऐतिहासिक महत्वको अध्ययन सँगसँगै विकासको काम अगाडि बढाउन निर्देशन दिंदै स्थानीय सरकारले गर्ने यस्तो काममा संघीय सरकार साथमा रहने बताउनु भएको सुवेदीको भनाईछ ।
सो अवसरमा प्रधानमन्त्रीले राम नेपालमा जन्मेको र अयोध्याका प्रमाणहरु प्रशस्तै रहेको बताउनुभयो । माडीमा भेटिएका पुरातात्विक र प्राचिन संरचनाहरुको संरक्षण गर्नुपर्ने भन्दै प्रधानमन्त्रीले पुरातत्व विभाग खोज, अनुसन्धान र उत्खननमा लागेको जानकारी दिनुभयो । प्रधानमन्त्रीको भनाईलाई उदृत गर्दै सुवेदीले भन्नुभयो “सरकारले आफनो ठाउँबाट काम सुरु गरेको छ सबैले सहयोग गरौ ।”
प्रधानमन्त्रीले लुम्बिनी, वाल्मीकि आश्रम र जनकपुरधामलाई जोडेर धार्मिक सर्किट बनाउनुपर्ने धारणा राख्नुभयो । भेटमा चितवनबाट सांसद दिलकुमारी रावल सहित माडी नगरपालिकाका प्रमुख ठाकुर ढकाल, उपप्रमुख ताराकाजी कुमारी महतो, नेकपा माडी नगर कमिटीका प्रतिनिधि, अयोध्या खोज अनुसन्धान तथा व्यवस्थापन समितिका पदाधिकारीहरुको सहभागीता थियो ।
यसअघि प्रधानमन्त्री ओलीले सुवेदीलाई टेलिफोन गरि अयोध्यापुरीको बारेमा जानकारी लिनु भएको थियो । माडी नगरपालिका वडा नम्बर ९ यस अघिको अयोध्यापुरी गाउबिकास समिति हो ।