
चितवनः प्रधानमन्त्री केपी शर्मा ओलीले रामको जन्मभूमी अयोध्याको विषयमा चासो प्रकट गर्नु भएको छ । उहाँले शुक्रबार माडी नगरपालिका वडा नम्बर ९ का अध्यक्ष शिवहरी सुवेदीलाई टेलिफोन गर्दै अयोध्यापरीको अध्ययन गर्न अनुरोध गर्नु भएको हो ।
प्रधानमन्त्री ओलीको भनाईलाई उदृत गर्दै सुवेदीले भन्नुभयो “त्यहाँ के कस्ता संरचना छन् र वनाउनु भएको छ । भारतमा भएको अयोध्याका बिषयमा त्यहाँका जनता समेत विश्वस्त नरहेकाले हाम्रो अयोध्याको बिषयमा थप अध्ययन र संरक्षणमा जुट्नु पर्दछ ।” सुवेदीले प्रधानमन्त्री ओलीले रामको जन्मभूमी नेपालमानै हो र माडीमानै हो भनेर आँफुलाई भनेको जानकारी दिनुभयो । सुवेदीले भन्नुभयो“तपाईहरुले के के गर्दै हुनुहुन्छ । तुरुन्तै काम अघि वढाउनु प¥यो ।”
आँफुले अयोध्याका वारेमा अध्ययन गर्दा प्रमाणहरु वलियो भेटिएको भन्दै प्रधानमन्त्री ओलीले सोमेश्वर गढी, बाल्मिकि आश्रम लगाएतका स्थानहरु समेत वलियो आधार भएको बताउनु भएको सुवेदीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “अयोध्याको विषयमा प्रधानमन्त्री माडीको टोलिसंग छलफलका लागि आतुर हुनुहुन्छ ।”
हाल माडीमा रहेका धार्मिक सम्पदा र पुरातात्वीक सामग्रीहरुको संरक्षण गर्न अनुरोध गर्दै प्रधानमन्त्री ओलीले आउँदो रामनवमी पर्वमा ठूलो पुजा गरी काम सुरु गर्ने बताउनुभएको जानकारी दिनुभयो । पुरात्वविक बिभागसंग समन्वय गरेर अध्ययन र संरक्षणमा जुट्न प्रधानमन्त्रीको निर्देशन छ सुवेदीले भन्नुभयो । हालको वडा नम्बर ९ यस अघिको अयोध्यापुरी गाउ बिकास समिति हो ।
यसै बिच प्रधानमन्त्री ओलीले माडीका नगर प्रमुख सहितका प्रतिनिधिलाई भेट गर्नलाई आज बोलाउनु भएको छ । माडी नगरपालिका प्रमुख ठाकुर ढकालले आज प्रधानमन्त्री ओलीले भेटघाटका लागि वोलाउनु भएको जानकारी दिनुभयो । ढकालका अनुसार वडाअध्यक्ष सुवेदी, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का माडी अध्यक्ष प्रभू महतो, सचिब नारदमणी पौडेल सहितको टोलि प्रधानमन्त्रीलाई भेट्न काठमाडौं जाँदै छ । ढकालले भन्नुभयो“आज दिउँसो प्रधानमन्त्री ज्यूलाई भेट्ने कार्यक्रम छ ।”
प्रधानमन्त्रीले गत असार २९ गते भानु जयन्तीका दिन भगवान राम भारतमा नभई नेपालकै ठोरी क्षेत्रमा जन्मनुभएको अभिव्यक्ति दिनुभएको थियो । माडीको अयोध्यापुरी, बाल्मीकि आश्रम, गोद्धक लगायतका क्षेत्रमा पुरानो मुद्रा, ईंटा, पुराना भवनका अवशेष जस्ता पुरातत्वीक वस्तुहरु भेटिदै आएको छ ।