चितवनः चितवन राष्ट्रिय निकुञ्जको मुख्य प्रवेशद्धार सौराहाका होटल खुले पनि ग्राहक नआए पछि व्यवसायी निरास भएका छन् । होटल खुले संगै एक दुई दिन चहलपहल भए पनि बस्ने र खाने गरि ग्राहक नआएको व्यवसायीहरुले जनाएका छन् ।
बिदेशी पर्यटक नआउने भए पनि स्थिति सहज हुने र आन्तरिक पर्यटक आउने व्यवसायीको चाहना थियो । तर बिभिन्न स्थानमा कोरोनाको संक्रमण वढे पछि व्यवसायीको चाहना पुरा हुन सकेन । क्षेत्रीय होटल संघका निवर्तमान अध्यक्ष सुमन घिमिरे जुन उत्साहा साथ होटल खोलिएको भए पनि ग्राहक नआएको बताउनुहुन्छ । होटल खुलेको भोलिपल्ट आफ्नो होटलमा तीनवटा कोठा बुक भएको तर पछि स्थगन गरिएको उहाँले जानकारी दिनुभयो ।
जङ्गल सफारी लजका सञ्चालक घिमिरेले भन्नुभयो “होटलमा सात जना कर्मचारी कार्यरत छन् । सात दिन भयो आज सम्म ग्राहक छैनन् ।” सौराहाका सबै होटलको अबस्था यस्तै रहेको उहाँले बताउनुभयो । घिमिरेले थप्नुभयो “हाम्रो अपेक्षा पर्यटक नभए पनि मानिसको आवतजावत हुन्छ । वास वस्न ग्राहक आउँछन् भन्ने थियो । त्यो पनि भएन ।” आउँदो भदौ १ गतेबाट आन्तरिक बिमान संञ्चालनमा नआएमा होटल वन्द गर्ने सोचमा आँफु पुगेको उहाँले बताउनुभयो ।
होटल संगै रेष्टूरेन्टहरु पनि खुलेका छन् तर ग्राहक छैनन् । रेष्टूरेन्ट एण्ड वार एशोसीयसन (रेवान)का अध्यक्ष दिपेन्द्र खतिवडा ग्राहकहरुको आवतजावत अलिअलि भए पनि खाएर वस्ने गरि ग्राहक नआएको बताउनुहुन्छ । लामो समय सम्म वन्द गर्नु पर्दा पिडामा रहेका व्यवसायीले जेनतेन खोलेको भए पनि ग्राहक नआए पछि निरास भएको उहाँको भनाई छ । सुरुका दिनमा केही उत्साह जगाएको भए पनि देशका ठाउँठाउँमा कोरोना वढ्दै गए पछि त्रासले ग्राहक नआएको उहाँको भनाई छ ।
सौराहामा १ सय हाराहारी रेष्टूरेन्ट छन् । जसमध्ये ५६ वटा रेवानका सदस्य हुन । आधा भन्दा वढि रेष्टूरेन्ट थोरै कर्मचारी राखेर खुलेका छन् । सौराहामा होटलको संख्या १ सय १० वटा रहेको छ । जहाँ ५ हजार ५ सय हाराहारी कर्मचारी कार्यरत रहेका छन् ।
चितवन राष्ट्रिय निकुञ्ज घुम्न पर्यटक यहाँ आउने गर्दछन् । कोरोना पछि लकडाउन संगै वन्द भएका होटल साउन १५ गतेबाट संञ्चालनमा आएका हुन ।

प्रतिक्रिया दिनुहोस !