काठमाडौंः साउदी अरबका युवराज मोहम्मद बिन सलमान माथि एक पूर्वसाउदी गुप्तचर अधिकारीको हत्याका लागि क्यानडामा ‘हिट स्क्वाड’ पठाएको आरोप लागेको छ ।
अमेरिकाको एक अदालतमा दायर गरिएको मुद्दामा साद अल–जाबरी नामका गुप्तचरको हत्याका लागि यो षडयन्त्र पत्रकार जमाल खसोग्गीको हत्यापछि रचिएको उल्लेख गरिएको छ ।

साउदी अरबमा वरिष्ठ अधिकारी रहेका साद अल–जाबरी ३ वर्षअघि भागेर क्यानडा पुगेका थिए । टोरोन्टोमा बसिरहेका उनले आफ्नो सुरक्षाका लागि व्यक्तिगत सुरक्षाकर्मी समेत राखेका छन् ।
अदालतमा पेस गरिएको दस्तावेज अनुसार टोरोन्टोको पियर्सन इन्टरनेसनल एयरपोर्टमा यात्रीको पासपोर्ट चेकजाँच गर्ने अधिकारीले ‘हिट स्क्वाड’ मा रहेका व्यक्तिहरूमाथि शंका लागेपछि सो योजना असफल भएको थियो ।

६१ वर्षीय जाबरी केही वर्ष बेलायतको एमआई६ र साउदी अरबमा पश्चिमी देशका केही गुप्तचर एजेन्सीका सहयोगी बनेको बताइएको छ ।

उनले पश्चिमी देशमा अल कायदाले गराउने बम विस्फोटनका केही षडयन्त्र असफल पार्नसमेत सहयोग गरेका थिए ।

वासिङ्टन डिसीमा दायर गरिएको १०६ पेज लामो अप्रमाणित पत्रमा साउदी युवराजमाथि जाबरीको हत्या प्रयास गरेको आरोप लगाइएको छ । यो दस्तावेजमा भ्रष्टाचारका साथै टाइगर स्क्वाडको विषयमा समेत चर्चा गरिएको छ ।

टाइगर स्क्वाडका सदस्य टर्कीस्थित साउदी वाणिज्य दूतावासमा पत्रकार जमाल खसोग्गीको हत्यामा सामेल थिए । उनी वाणिज्य दूतावासमा केही दस्तावेज लिन गए पनि फर्किएर आएनन् ।

अमेरिकामा दायर गरिएको आरोपपत्रमा साउदी युवराजबारे केही संवेदनशील र अपमानजनक जानकारी समावेश रहेको बताइएको छ । यसका साथै जाबरीको हत्या गर्ने षडयन्त्रसँग सम्बन्धित रेकर्डिङसमेत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस !