चितवनः प्रतिनिधि सभा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले माडीको कुसुमखोलामा रहेका निकुञ्ज पिडितहरुको अबस्था बारे प्रत्यक्ष रुपमा जानकारी लिएको छ । समितिका सभापति पूर्णकुमारी सुवेदी सहितको टोलिले आज माडी पुगेर निकुञ्जले सुकुम्बासीको घरमा आगलागी गरिएको भनिएको बिषयमा जानकारी लिएको हो ।

समितिका सदस्यहरु शान्ति पाख्रीन तामाङ्ग र राज बहादुर वुढा सहितको टोलिले सो क्षेत्रका चेपाङ्ग समुदाय, वडाका जनप्रतिनिधि, र माडी नगरपालिकाका प्रमुख संग समेत छलफल गरेको छ । समितिकी सभापति सुवेदीले जनताको समस्या एकातर्फ र निकुञ्जको कानुन अर्को तर्फ भएकाले समस्या आएको पाईएको बताउनुभयो । उहाँले भन्नुभयो “हामीले कुसुमखोलाका पिडितहरु संग भेट्यौ, उहाँहरुको समस्या एकतातिर र निकुञ्जको कानुन अर्को तिर हुँदा समस्या आएको पायौं ।”अहिले देखिएको समस्यालाई व्यवस्थापन गरेर अघि वढ्नुको बिकल्प नरहेको उहाँको भनाई थियो । उहाँले थप्नुभयो “अहिलेको समस्यालाई व्यवस्थापन गरेर अघि वढ्नुपर्छ । पिडितलाई उचित क्षतीपूर्तीको व्यवस्था गरिनु पर्छ ।”

सुकुम्बासीहरुको अधिकार रक्षाका लागि सरकारले आयोग गठन गरी काम थालि सकेको बताउँदै उहाँले यस्ता समस्या समाधान हुने विश्वास व्यक्त गर्नुभयो । चेपाङ्ग समुदायको संरक्षण, आयआर्जन र समृद्धिका बिषयमा राज्यले सोच्दै आएको उहाँले जानकारी दिनुभयो ।

वन वन्यजन्तुको संरक्षण गर्दै जनताको पक्षमा काम हुनु पर्ने उहाँले बताउनुभयो । केही दिन अघि निकुञ्जले चेपाङ्ग बस्ति हटाउनका लागि लगाएको आगोको बिषयमा अध्ययन भईरहेको उहाँको भनाई थियो । वन मन्त्रालय अन्तर्गत वैज्ञानीक वन अनुगमनका क्रममा आएको टोलि आज विहान माडी पुगेको हो । कुसुमखोलामा रहेका सुकुम्बासी चेपाङ्ग बस्तिमा निकुञ्जले आगो लगाएको पिडितले बताउँदै आएका छन् भने निकुञ्जले अन्यत्र घर हुँदा पनि अतिक्रमण गरेर बनाईएका गोठ र मचान हटाएको जनाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस !