
काठमाडौंः काठमाडौंमा प्रहरी जवान प्रशन्न श्रेष्ठले लुकाएको अवस्थामा सुनजस्तो देखिने एककिलो धातु भेटिएको केही समयमै उनको साथीको कोठाबाट समेत एक किलो सुनजस्तो धातु बरामद भएको छ । बागबजारस्थित श्रेष्ठका साथी उमेश श्रेष्ठको कोठाबाट सो धातु बरामद भएको हो । एक उच्च प्रहरी अधिकारीले धातु बरामद भएको पुष्टि गर्नुभयो ।
बरामद भएको धातु सुन हो वा होइन परीक्षणका क्रममा छ । मंगलबार बरामद भएको साढे १४ किलो नक्कली सुनको अनुसन्धानका क्रममा थप एककिलो धातु फेला परेको हो ।
श्रेष्ठ सादा पोसाकका प्रहरी हुन् । मंगलबार बरामद भएको भनिएको नक्कली सुन र हतियारबारेको सूचना बहादुरसिंह कडायत र प्रशन्न श्रेष्ठले नै महानगरीय प्रहरी वृत्त दरबारमार्गका डीएसपीलाई दिएका थिए ।