चितवनः सौराहाका होटलहरु संञ्चालनमा आए पनि त्यहाँ आएका पर्यटकहरु घुम्नका लागि जाने चितवन राष्ट्रिय निकुञ्ज भने खुलेको छैन । लकडाउन संगै निकुञ्जका सबै गतिबिधि बन्द गरिएको थियो । वर्षातको समयमा निकुञ्ज भित्र जिप सफारी रोकीने भए पनि अन्य गतिबिधि रोकिदैन ।
सौराहा आउने पर्यटक हात्ती चढेर स्थानीय सामुदायीक वनमा रमाउने, राप्ती नदीमा डुङ्गा चढ्ने, जंगलमा पैदल यात्रा गर्ने गर्दछन् । सबै गतिबिधिका लागि बिदेशी पर्यटकले निकुञ्जको प्रबेश टिकट लिनुपर्ने हुन्छ । जसका लागि निकुञ्जले औपचारीक रुपमा अनुमति दिनु पर्दछ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण बिभागका निमित्त महानिर्देशक रामचन्द्र कडेंलले कोरोनाको संक्रमण जारीनै रहेकाले अध्ययन र छलफल गरेर मात्र निकुञ्जले अनुमति दिने बताउनुभयो । उहाँले भन्नुभयो “रोगको संक्रमणको डर वन्यजन्तुलाई पनि हुन सक्छ ।”
सौराहा आउने पर्यटकलाई हात्ती चढाएर स्थानीय कुमरोज, बाघमारा, चित्रसेन र खोरसोर मध्यवर्ती सामुदायीक वनमा घुमाउन लगिन्छ । सामुदायीक वनमा घुमे पनि आन्तरिक पर्यटकले प्रतिव्यक्ति रु १ सय, भारतियले रु १ हजार ६ सय र अन्य देशकाले रु २ हजार निकुञ्जलाई तिर्नुपर्ने हुन्छ । वन र वन्यजन्तुसंग रमाउनका लागि पर्यटक सौराहा आउने गर्दछन् ।