चितवनः गत आर्थिक वर्षमा प्राकृतिक कारणले तीनवटा बाघ मरेका छन् । अघिल्लो आर्थिक वर्षमा ८ वटा बाघ मरेका थिए ।
चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत प्रकाश उप्रेतीका अनुसार निकुञ्जको पश्चिम क्षेत्रको नवलपरासी स्थित वेदघारी मध्यवर्ती सामुदायीक वनमा एउटा वयस्क भाले बाघ मृत फेला परेको थियो । त्यसैगरि ठोरीमा र कसरामा एक–एक वटा पोथि वयस्क वाघ मृत फेला परेको हो । कसरामा उद्धारका क्रममा बाघ मरेको हो । दुई वटा घाईते भएर मरेको हो भने एउटाको कारण नखुलेको उहाँले जानकारी दिनुभयो ।
अघिल्लो वर्ष भन्दा गत वर्ष प्राकृतिक कारणले मर्ने बाघको संख्या घटेको उहाँले जानकारी दिनुभयो । दुर्लभ एकसिंगे गैंडा पनि अघिल्लो आर्थिक वर्षमा धेरै मरेका थिए । त्यस वर्ष ४३ वटा गैंडा मरेका थिए भने गत आर्थिक वर्षमा प्राकृतिक कारणबाट मर्ने गैंडाको संख्या २६ रहेको छ ।
पछिल्लो गणना अनुसार चितवन राष्ट्रिय निकुञ्जमा बयस्क ९३ वटा पाटेबाघ रहेको तथ्याङ्गक छ । पर्सा देखि बाल्मिकी टाईगर रिजर्भ सम्म यो संख्या १ सय ४३ रहेको छ । पर्साको मात्र १८ हो भने बाँकी बाल्मिकी टाईगरको भएको उप्रेती वताउनुहुन्छ । पछिल्ला वर्षहरुमा सडक र बिकासका नाममा निकुञ्ज र वनहरुमा वनाईने सडक र संरचनाका कारण बाघको वासस्थानमा असर पर्ने गरेको छ । उहाँले भन्न्ुभयो “अतिक्रमण वढ्दै जाँदा बाघ संरक्षणमा जोखिम वढेको छ ।”
चितवन राष्ट्रिय निकुञ्ज बाघका लागि उर्वर मानिन्छ ।