काठमाडौंः नेकपाका ४० प्रतिशत केन्द्रीय सदस्यले बैठकको माग गर्दै हस्ताक्षर बुझाउँदै छन् ।

बुधबार दिउँसो ४ बजे महासचिव विष्णु पौडेललाई बैठकको मागसहित हस्ताक्षर बुझाउने तयारी भएको केन्द्रीय सदस्य ठाकुर गैरेले जानकारी दिनुभयो ।
“हामी छलफलमा छौं । ४ बजे पार्टी कार्यालयमा हस्ताक्षर बुझाउने तयारी छ,” गैरेले भन्नुभयो । केन्द्रीय सदस्य नीरज आचार्यले महासचिवसँग समय माग गरिएको जानकारी दिनुभयो ।

असार १० गतेदेखि जारी स्थायी कमिटी बैठक किचलोमा परिणत भएपछि केन्द्रीय कमिटी बैठकको आवश्यकता महसुस भएको हस्ताक्षरकर्ताहरूले बताएका छन् । स्थायी कमिटीले विवाद सल्ट्याउन नसकेपछि र आफैं विभाजित भएपछि समस्या समाधानका लागि केन्द्रीय कमिटी बैठकको माग गरिएको उनीहरूले बताएका छन् ।

केन्द्रीय कमिटीका सदस्यहरूले केही दिनअघि जुम मिटिङमार्फत छलफल गरेर बैठक माग गर्ने निष्कर्षमा पुगेका थिए । उपत्यकाबाहिर रहेका केन्द्रीय सदस्यहरूसँग इमेलमार्फत हस्ताक्षर मगाएका थिए ।

बैठक बोलाउन आवश्यक हस्ताक्षर जुटिसकेको भए पनि विवाद मत्थर भएकाले बुझाएका थिएनन् । मंगलबार पुनः विवाद उत्कर्षमा पुगेपछि बैठक अनिवार्य भएको र विधानतः बैठक बस्ने समय पनि भएको गैरेको भनाइ छ ।

नेकपाको विधानको धारा ५९ (४) अनुसार कमिटीका २५ प्रतिशत सदस्यहरूले लिखित माग गरेको खण्डमा केन्द्रीय कमिटीको बैठक एक महिनाभित्र र मातहत कमिटीको बैठक १५ दिनभित्र बोलाउनुपर्नेछ ।

४ सय ४१ सदस्यीय केन्द्रीय कमिटमा बैठक बोलाउन १ सय १० जना सदस्यको हस्ताक्षर आवश्यक पर्छ । त्यति हस्ताक्षर जुटिसकेको गैरेको भनाइ छ ।

नेकपाको केन्द्रीय कमिटीको बैठक गत माघ १५ गतेदेखि १९ गतेसम्म बसेको थियो । विधानको धारा ५९ (१) अनुसार केन्द्रीय कमिटीको बैठक ६–६ महिनामा बस्नुपर्नेछ ।

जारी स्थायी कमिटी बैठक पनि सदस्यहरूले माग गरेरै बोलाइएको हो । अध्यादेश प्रकरणपछि वैशाख १० गते स्थायी कमिटीका २० जना सदस्यले बैठक माग गर्दै हस्ताक्षर बुझाएका थिए ।

प्रतिक्रिया दिनुहोस !