काठमाडौं – नेपाली सेनाका पूर्वरथी कुलबहादुर खड्काको निधन भएको छ । प्यान्क्रियाजको क्यान्सरबाट पीडित खड्काको आज (मंगलबार) थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा ६८ वर्षको उमेरमा निधन भएको हो ।
पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले २०६६ सालमा खड्कालाई प्रधान सेनापति नियुक्त गरे पनि तत्कालिन राष्ट्रपति डा. रामवरण यादवको हस्तक्षेपपछि उनले कार्यभार सम्हाल्न पाएका थिएनन् । सोही काण्डमा प्रचण्डले प्रधानमन्त्री पदबाटै राजीनामा दिएका थिए ।
खड्कालाई केही महिना पहिले क्यान्सर निदान भएको थियो । अस्पताल स्रोतका अनुसार स्वास्थ्य अवस्था बिग्रेपछि उनलाई गत बिहीबार अस्पताल भर्ना गरिएको थियो । खड्काको मंगलबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।