चितवनः नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एबं चितवन क्षेत्र नम्बर तीनका प्रतिनिधि सभा सदस्य पुष्पकमल दाहाल प्रचण्डले माडीको कुसुमखोलाका बिस्थापितलाई तत्काल घरको व्यवस्था गर्न निर्देशन दिनुभएको छ । उहाँले माडी नगरपालिकाका प्रमुख ठाकुर ढकाललाई टेलिफोन गरि तत्काल वासस्थानको व्यवस्थापन गर्न भन्नुभएको हो ।
चितवन राष्ट्रिय निकञ्जको क्षेत्रमा पर्ने कुसुमखोलामा बसोबास गर्नेहरुको घर गोठ निकुञ्जले हटाए पछि उनीहरु बिस्थापित भएका छन् । निकुञ्ज प्रशासनले उनीहरुको अन्यत्र घर भएको र खेति गर्न आउँदा वस्ने पुरानो ठाउँको मचान र टहरा भत्काएको जनाउँदै आएको छ भने माडी नगरपालिकाले उनीहरु मध्ये दुई परिवारको अन्यत्र घर नभएको र बसि रहेको ठाउँ निकुञ्जले आगो लगाएको जनाएको छ ।
सोही क्षेत्रबाट निर्वाचित प्रचण्डले घटना लगत्तै ढकाललाई बासस्थानको व्यवस्थापन गर्न भन्नुभएको हो । ढकालले भन्नुभयो “बजेटको व्यवस्थापन गरौला, तत्काल उनीहरुको बासस्थानको व्यवस्थापन गर्नुस् भन्नुभएको छ ।” ढकालले एक महिना भित्रमा माडी नगरपालिका वडा नम्बर ७ को गौरीगाउँमा उनीहरुको घर निर्माण गरिने वताउनुभयो । त्यहाँ रहेका अन्य सुकुम्बासिहरुलाई नगरपालिकाको बिभिन्न ठाउँमा राखिसकेको छ ।
कुसुमखोला घटना पछि दाहाल पुत्री भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले सो क्षेत्रमा आँफै पुगेर अबस्थाको बारेमा जानकारी लिनुभएको थियो । उहाँले भन्नुभयो “घटना दुःखत हो । यसबाट अध्यक्ष दाहाल पनि चिन्तित हुनुहुन्छ ।” बिस्थापित भएकाहरुलाई तत्काल बासस्थानको व्यवस्थापन गर्न नगरप्रमुख ढकाललाई अध्यक्ष दाहालले भनिसक्नुभएको उहाँले बताउनुभयो ।
केहीदिन अघि बाढिबाट प्रभाबित भएकाहरु र नारायणी नदीको कटानको अबस्थाको बारेमा बुझ्न आउनु भएका पूर्ब प्रधानमन्त्री दाहालले माडीका बाढि प्रभाबितहरुलाई समेत भेट गर्नुभएको थियो । दाहालको क्षेत्र भरतपुर महानगरको धेरै भाग र माडी नगरपालिका पर्दछ ।

प्रतिक्रिया दिनुहोस !