निशा दाहाल /चितवनः पबित्र तिर्थस्थल देवघाटमा बाँदर धपाउन ल्याईएका यन्त्र प्रभावकारी नभएको स्थानीयले गुनासो गरेका छन् । देवघाट क्षेत्र बिकास समितिले बाँदर धपाउन ११ वटा यन्त्र खरिद गरेर स्थानीय टोल सुधार संस्थालाई बितरण गरेको थियो ।
समितिका कार्यकारी निर्देशक धिरणबाबु घिमिरेका अनुसार एउटालाई रु २ हजार ८ सयका दरले यन्त्र खरिद गरिएको हो । त्यस यन्त्रमा १० एमएल पानी र १० एमएल कार्वाइड राखेर पछाडीबाट लाईटर छिराएर सल्काए पछि चर्को आबाज आउने गर्दछ ।
चलाउने बिधिका बारेमा सिकाएर स्थानीय टोलहरुलाई यन्त्र बितरण गरिएको थियो । यन्त्र पड्काउँदा चर्को आवाज आउने गर्दछ । जसले एक ठाउँको बाँदर अर्को ठाउँ पुग्ने गरेको स्थानीय वताउँछन् । देवघाट क्षेत्र भित्रनै बाँदर एक ठाउँबाट अर्को ठाउँमा मात्र जाने गरेको उनीहरुको भनाई छ ।
समितिका अध्यक्ष शिवराज पौडेल पनि यन्त्रले प्रभावकारी काम गर्न नसकेको स्विकार गर्नुहुन्छ । उहाँले भन्नुभयो “एक ठाउँमा पड्कीए पछि बाँदर त्यही अर्को ठाउँमा पुग्ने हुँदा प्रभावकारी भएन ।” पौडेलले बाँदरलाई पार्क वनाएर राख्ने, परिवार नियोजन गरेर संख्या घटाउने, ठूला निकुञ्जमा लगेर छाड्नेनै स्थायी समाधान भएको बताउनुभयो । यसरी ध्वनी निकाल्दा प्रदुषण हुने, बालबच्चा र वृद्धवृद्धा तर्सने, मानिसको कानमा समस्या पर्न सक्ने देखिएको पौडेलले बताउनुभयो ।
देवघाट र आसपासका क्षेत्रमा ३ हजार देखि ३ हजार ५ सय सम्म बाँदर रहेको अनुमान छ । हरेक वर्ष चार सय भन्दा वढिले बच्चा जन्माउने गरेको समितिका कार्यकारी निर्देशक घिमिरे बताउनु हुन्छ ।
बाँदरले बालिनालि ध्वस्त वनाएको, घर भित्र पसेर खाना समेत खाईदिने गरेको, १२ जना भन्दा वढिलाई चिथोरेको र टोकेको उहाँले बताउनुभयो ।