चितवनः कोरोना संक्रमण वढे संगै लकडाउन हुँदा घरेलु तथा साना उद्योगहरु दर्ता हुने क्रम घटेको छ । गत आर्थिक वर्षमा अघिल्लो वर्ष भन्दा कम उद्योग दर्ता भएका छन् ।
घरेलु तथा साना उद्योग कार्यालय, चितवनमा अघिल्लो आर्थिक वर्ष २०७५÷०७६ भन्दा गत आर्थिक वर्ष २०७६÷०७७ मा साझेदारी तथा नीजि उद्योग दर्ता गर्ने घटेका छन ।
कार्यालयले दिएको जानकारी अनुसार अघिल्लो आर्थिक वर्षमा १ हजार ६ सय ८८ उद्योग दर्ता भएका थिए । गतबर्ष यो संख्या घटेर १ हजार ४सय ४८ मा झरेको छ ।
उद्योगको प्रकृति अनुसार कार्यालयले ८ वटा शिर्षकमा उद्योग दर्ता गर्ने गरेको छ । जस अनुसार गत आर्थिक वर्षमा सबैभन्दा बढी कृषि तथा वनजन्य उद्योग ८ सय ५८ वटा दर्ता भएका थिए । यस्तै पर्यटन मुलक उद्यागे १ सय ९० ,सेवामुलक उद्योग १ सय ८५ वटा ,उत्पादनमुलक उद्योग २ सय १२ वटा र विज्ञान तथा सूचना प्रविधि उद्योग ३ वटा दर्ता भएका छन । उक्त आर्थिक वर्षमा उर्जामुलक उद्योग, खनिजजन्य उद्योग तथा निर्माणमुलक उद्योग कुनैपनि दर्ता भएका छैनन ।
यसैगरी अघिल्लो आर्थिक वर्षमो सबैभन्दा बढी कृषि तथा वनजन्य उद्योगहरु ८ सय ५६ वटा दर्ता भएका थिए । यस्तै उत्पादनमुलक उद्योग ३ सय ५७ ,सेवामुलक उद्योग २ सय ९५ वटा ,पर्यटन मुलक उद्योग १सय ७८ वटा, विज्ञान तथा सूचना प्रविधि २ वटा दर्ता भएका थिए भने उर्जामुलक, खनिजजन्य र निमार्णमुलक उद्योग कुनै पनि दर्ता भएका थिएनन।
कार्यालयका प्रमुख नारायण लम्सालले कोरोनाका कारण चैतबाट यता उद्योग दर्ता गर्ने संख्या ठप्प जस्तै भएकोले उक्त संख्यामा कमी आएको बताउनुभयो । उहाँले भन्नुभयो “कोरोनाका कारण नयांँ दर्ता गर्ने पनि आएनन ।” गतबर्षबाट ५ लाख भन्दा कम पुजी लागनीको उद्योग स्थानीय पालिकामा दर्ता हुने सरकारले निर्णय गरेको छ । कोरानाको कारण नव उद्यमीहरुमा अन्यौल र अनिश्चितता बढेका कारण पनि उद्योग दर्ता गर्नेको संख्यामा कमी आएको उहाँको भनाई छ ।
उद्योग दर्ता घटेपछि राजश्व संकलन पनि घटेको छ । अघिल्लो आर्थिक वर्षमा उद्योग दर्ताबाट रु ४९ लाख १४ हजार राजश्व संकलन भएकोमा गत आर्थिक बर्षमा रु ३५ लाख ५८ हजार मात्र राजश्व संकलन भएको छ ।

प्रतिक्रिया दिनुहोस !