काठमाडौंः कोरोना भाइरस महामारीका कारण बालबालिकामा परेको असर तथा अवस्थाबारे गरिएको सर्वेक्षणको प्रतिवेदन सार्वजनिक भएको छ ।

सर्वेक्षण बाल सहभागिताको क्षेत्रमा कार्यरत संस्थाहरुको साझा समूह (कन्सोर्टियम नेपाल) को नेतृत्व तथा वर्ल्ड भिजन इन्टरनेशनल नेपालको सहयोगमा ३१ वटा जिल्लामा गरिएको थियो ।
सातै प्रदेशमा सम्पन्‍न सर्वेक्षणमा प्रत्येक प्रदेशबाट कम्तिमा चारवटा जिल्ला समेटिएको छ । बालबालिका, अभिभावक, सरकारी कर्मचारी तथा जनप्रतिनिधिलाई लक्षित गरी गरिएको सर्वेक्षणमा २९६ बालबालिका, २५६ अभिभावक तथा १०३ जना सरकारी कर्मचारी र जनप्रतिनिधिहरुले प्रत्यक्ष सहभागीता जनाएका थिए ।
उक्त सर्वेक्षणको प्रतिवेदन अनुसार ८८.३५ प्रतिशत बालबालिकाहरु विद्यालय जान नपाएकोमा खुशी छैनन् र उनीहरु सकेसम्म चाँडो विद्यालय जाने चाहना राख्दछन् त्यस्तै सर्वेक्षणमा सहभागी भएकामध्ये करिव २९ प्रतिशत बालबालिका मात्रै वैकल्पिक पठनपाठनमा सहभागी हुन पाएका छन ।
वैकल्पिक पठनपाठनहरु सञ्चालन भएका विद्यालयहरुमध्ये पनि करिब २० प्रतिशत मात्र प्रभावकारी देखिएको छ । यो लकडाउनले बालबालिकामा दिक्क लाग्‍ने, टाउको तथा शरिर दुख्‍ने, बिर्सने, रिस उठ्ने, कसैसँग बोल्न मन नलाग्‍ने समस्या भएको सर्वेक्षणले देखाएको छ ।
यस्तो बन्दाबन्दीको समयमा पनि बालबालिकाले मानसिक तथा शारीरिक हिंसाको सिकार हुनु परेको सर्वेक्षणले देखाएको छ ।

प्रतिक्रिया दिनुहोस !