काठमाडौंः श्रीमतीको हत्या आरोपमा जेल परेका सशस्त्र प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षक डीआईजी रञ्जन कोइराला रिहा भएका छन् ।
सर्वोच्च अदालतको आदेशपछि साढे ८ वर्ष कैद सजाय भुक्तान गरी कोइराला बिहीबार रिहा भएका हुन् । बिहीबार बिहान डिल्लीबजार कारागार प्रशासनले कोइरालालाई जेलमुक्त गरेको हो ।

सर्वोच्च अदालतले असार १५ गते कोइरालाको सजाय घटाउँदै ८ वर्ष ६ महिना कायम गरेको थियो । श्रीमती गीता ढकालको हत्या गरेपछि पूर्व डीआईजी कोइराला जेल परेका थिए ।

श्रीमती गीताको हत्या मुद्दामा जिल्ला र पुनरावेदन अदालतले सर्वश्व सहित जन्मकैदको फैसला सुनाएको थियो । तर सर्वोच्चका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र तेजबहादुर केसीको इजलासले कोइरालाको सजाय घटाउने फैसला गरेको थियो ।
जिल्ला र पुनरावेदन अदालतले कोइरालालाई दोषी ठहर गरेको फैसला मिले पनि सर्वस्वसहित जन्मकैदको सजाय नमिलेको सर्वोच्चको तर्क छ ।
कोइरालाले २०६८ माघमा श्रीमती गीताको हत्या गरेका थिए । उनी २०६८ माघ २८ गते पक्राउ परेका थिए ।

प्रतिक्रिया दिनुहोस !