काठमाडौंः प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लकडाउन खुलेपछिको चुनौती सामना गर्न नयाँ र विशेष रणनीति निर्माण गर्न सरकारसँग आग्रह गर्नुभएको छ ।
उहाँले बिहीबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर लकडाउन खुलेपछिको चुनौती सामना गर्न नयाँ र विशेष रणनीति निर्माण गर्न सरकारसँग आग्रह गगर्नु भएको छ । सभापति देउवाले कोरोना भाइरसको परीक्षण पीसीआर विधिबाट मात्रै गर्न आग्रह गर्दै क्‍वारेन्टिनहरु अझै पनि मापदण्डयुक्त बनाउन सरकारले ध्यान नदिएकामा आपत्ति जनाउनुभयो ।
उनले प्रधानमन्त्री ओलीसँग विदेशमा अप्ठ्यारोमा परेका नेपालीको उद्धार गर्ने कार्यमा तीव्रता दिन पनि आग्रह गरेको कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार भेटमा सभापति देउवाले बाढी र पहिरोबाट प्रभावितको राहत र पुनर्स्थापनाका लागि युद्धस्तरमा कार्य गर्न पनि प्रधानमन्‍त्री ओलीसँग आग्रह गर्नुभयो ।
कोरोनाले सिर्जना गरेका चुनौतीका कारण उब्जिएका विभिन्‍न क्षेत्रका असन्तुष्टि र आन्दोलनहरुले अघि सारेका जायज मागलाई गम्भीरतापूर्वक लिएर सम्बोधन गर्न पनि सभापति देउवाले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको मुख्यसचिव पौडेलले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !