चितवनः भरतपुर महानगर क्षेत्रको सिचाईमा महत्वपूर्ण योगदान पु¥याएको नारायणी लिफ्टमा नयाँ उपकरण जडान गरि बर्षै भर पानी छोड्ने तयारी गरिएको छ । हाल सो लिफ्टले धान खेतीका लागि वर्षातमा मात्र पानी छोड्ने गर्दछ ।
लिफ्ट हेर्दै आएको नारायणी लिफ्ट खगेरी सिचाई व्यवस्थापन कार्यालय भरतपुरका प्रमुख ई. खेम वहादुर पाठकका अनुसार लिफ्टका दुई वटा पम्प मध्ये एउटा पम्प नयाँ जडान गरिदैं छ । जसका लागि बोलपत्र आव्हान समेत भईसकेको उहाँले जानकारी दिनुभयो । करिब रु ३५ करोडको लागतमा नयाँ पम्प जडान गर्न लागिएको हो । साउन ८ गते सम्म वोलपत्रको समय भएकोमा लकडाउनका कारण साउन २३ गते सम्मलाई सारिएको छ ।
बागमती प्रदेश सरकारले पम्प जडानका लागि रु १९ करोड बिनियोजन गरिसकेको छ । अपुग रकम प्रदेश र अन्य निकायबाट प्राप्त हुने छ । नयाँ पम्प जडान संगै बिद्युत खपत कम हुने, मर्मत सम्भार खर्च घट्ने र चलाउन सहज हुने पाठक बताउनुहुन्छ । हाल संञ्चालनमा आएको पम्प ११ केभिए भोल्टबाट चल्छ भने अब नयाँ पम्प ६ दशमलब ६ केभिएबाट चल्ने उहाँले जानकारी दिनुभयो । लिफ्टमा भईरहेका दुई पम्प संञ्चालन गर्दा तीन महिनामा रु १ करोड ५० लाख बराबरको बिद्युत खपत हुँदै आएको छ । नयाँ पम्प आए संगै बिद्युत खपत निकै कम हुने पाठकको भनाई छ । पुराना पम्प भएकाले अहिले वर्षमा रु २ करोड हाराहारी पम्प मात्र मर्मतमा खर्च हुँदै आएको छ ।
हाल भएका पुराना दुई पम्पको मोटर माथि छन् भने अबको नयाँ पम्प समर्सियल (पानी मुनि राखिने) किसिमको अत्याधुनिक हुने छ ।
नारायणी लिफ्ट सिचाई जलउपभोक्ता समितिका अध्यक्ष पूर्णबहादुर रानाभाट लिफ्टले भरतपुर महानगरपालिकाको वडा नम्बर ४,५,६,८,९, ११, १२,१४,१५ लगाएतका वडाका ३ हजार ५ सय हेक्टर प्रत्यक्ष रुपमा सिंञ्चित गर्दै आएको बताउनुहुन्छ । बि.सं. २०४० सालमा स्थापना गरिएको यस लिफ्ट परियोजनाबाट आएको पानी खगेरी सिचाईमा मिसाएर पश्चिम चितवनका अन्य वडाहरुमा पनि सिचाई गरिदैं आएको छ ।
भरतपुर महानगरपालिका वडा नम्बर १ नारायणगढमा दुईवटा पम्प राखेर त्यसै पम्पले नारायणीको पानी माथि तानेर भरतपु्र महानगर क्षेत्रमा कुलोबाट पानी पठाएर सिंञ्चित गरिदैं आएको छ । हाल असार अन्तिम साताबाट कात्र्तिक पहिलो साता सम्म धान रोपाई र धानलाई सिंञ्चित गरिदै आएको छ । अध्यक्ष रानाभाटले भन्नुभयो “अब हामी बर्षै भरी पानी दिन सक्ने गरि पम्पको स्तरोन्नती गर्दैछौ ।” उहाँका अनुसार हिउँदमा यस क्षेत्रमा तरकारी, लहरेबालीहरु, मकै लगाउन पानी सहयोगी हुने छ । रानाभाटका अनुसार भरतपुर महानगर प्रमुख रेनु दाहाल लिफ्ट हिउँदमा पनि संञ्चालन गर्ने गरि स्तरोन्नती गर्न सकारात्मक हुनु भएको बताउनुभयो । उहाँले भन्नुभयो “मेयर साप सकारात्मक हुनुहुन्छ । स्थलगत अध्ययन गरि उहाँले आबश्यक सहयोग गर्न तयार रहेको वताउँदै आउनुभएको छ ।”
दाहाल प्रमुख भए देखिनै कृषि क्षेत्रको बिकासका लागि आँफु लागि परेको बताउँदै आउनु भएको छ । उहाँले भन्नुभयो “लिफ्टको स्तरोन्नतीका लागि मैले गर्नु पर्ने काम गर्न तयार छु ।” उहाँले पम्प फेरेर हिउँदमा समेत महानगर क्षेत्रमा सिचाई गर्नुपर्ने बताउनुभयो । जसका लागि प्रदेश र संघिय सरकारसंग आँफुले आबश्यक पहल गर्दै आएको उहाँको भनाई छ ।
महानगर क्षेत्र उर्वर रहेको भन्दै यसलाई सिंञ्चित गर्दै गर्दा नगरवासिको जीवनस्तर उकास्न मद्धत पुग्ने उहाँले बताउनुभयो । पानीको नहर अतिक्रमणहुनबाट रोक्न महानगर सधै सहयोगी हुने उहाँको भनाई छ । लिफ्टका केही नहरहरु मिचिएका छन् । कतिपयमा सडक वनाएर कालोपत्रे समेत गरिएको छ ।