काठमाडौंः सरकारले लकडाउन अन्त्य भएको घोषणा गरेको भोलिपल्ट राष्ट्रपति विद्यादेवी भण्डारीले नोवेल कोरोना भाइरस (कोभिड–१९) बाट बच्न आवश्यक नियमहरू पालना गर्न आग्रह गरेकी छन् ।

भण्डारीले बुधबार सामाजिक सञ्जाल ट्विटरमार्फत जनजीवन सहज पार्नका लागि मात्रै सरकारले लकडाउन सरल बनाएको उल्लेख गरेकी हुन् ।
‘जनजीवनलाई सहज पार्न नेपाल सरकारले बन्दाबन्दी केही सरल गरेको छ । तथापि कोरोना महामारीको जोखिम टरिसकेको छैन’ राष्ट्रपति भण्डारीले लेखेकी छन्, ‘तसर्थ स्वास्थ्यसम्बन्धी नियमहरूको पालना गर्न सबैमा आग्रह गर्दछु ।’
११ चैतबाट सुरु भएको लकडाउन सरकारले ६ साउन राती १२ बजेदेखि अन्त्य भएको घोषणा गरेको थियो । लकडाउन सकिए पनि भेला, समारोह, तालिम, सेमिनार, शैक्षिक संस्था सञ्चालन, समूहमा गरिने खेलकुद आदि भने खुल्ला भएको छैन ।

प्रतिक्रिया दिनुहोस !